बलात्कार घटनालाई मिलापत्र गराउनेहरु, इन्सेटमा घटनामा संलग्न शुरेस खवास

मोरङ्ग/ बलात्कार घटनालाई मिलापत्र गराउने ६ जनासहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीले बलात्कारमा संलग्न एकजनासहित मिलापत्र गराउने ६ जनालाई पक्राउ गरेको हो।

मोरङको बेलबारी नगरपालिका वार्ड नम्बर ८ बस्ने बर्ष ३२ को सुरेश कुमार खवासले गएको भदौ २४ गते ६बजेतिर मोरङको धनपालथान गाउँपालिका वार्डनम्बर ५स्थित आफ्नै धान खेतमा मल छर्ने क्रममा २१ बर्षीया यूवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

पिडित यूवतीले असोज २५ गते जवरजस्ती करणी कसूरमा इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दिएकी थिईन। प्रहरी अनुसन्धानका क्रममा फरार रहेका खवासलाई इप्रका रंगेलीबाट खटिएको प्रहरी टोलीले मंसिर १९ गते ३ बजे रंगेली नगरपालिका वार्ड नम्बर ७ रंगेली बजारबाट पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानका क्रममा सो घटना गाउँघरमा पिडित पक्षलाई ५ लाख रुपैँया दिएर मिलापत्र गराएको भन्ने खुल्न आएको र मिलापत्र कागज समेत बरामद गरेको रंगेली प्रहरीले जनाएको छ।

बलात्कार जस्तो जघन्य अपराधको मिलापत्र गराउने काममा संलग्न भएको प्रमाणको आधारमा प्रहरीले धनपालथान गाउँपालिका वार्डनम्बर ५बस्ने ६५बर्षीय धनेशु खवास, ५३बर्षीय सुधार सिंह खवास, ६२ बर्षीय मागन खवास, ६२ बर्षीय कलकनु खवास, रंगेली नगरपालिका वार्डनम्बर १ बस्ने ६७बर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका वार्ड नम्बर ८ बस्ने ५३ बर्षीय मथालु खवासलाई मंसिर २५ गते (हिजो) उनिहरुको घरैबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।