केराबारी/ मोरङको केराबारी ७ स्थित संरक्षित बन क्षेत्रमा अवैध रुपमा ढुंगा संकलन गर्दै गरेको एउटा ट्याक्टर शशस्त्र प्रहरी र बन कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। शशस्त्र प्रहरी बल लक्ष्मीमार्ग र सव डिभिजन वन कार्यालय केराबारीको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो।

महिन्द्रा कम्पनीको नम्बर मेटिएको रातो ट्याक्टर केराबारी ७ स्थित चुरेक्षेत्रमा अवैध रुपमा ढुंगा संकलन तथा ओसार पसार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको शशस्त्र प्रहरी बल लक्ष्मीमार्गका प्रहरी निरिक्षक मानबहादुर कटवालले बताउनुभयो।

संयुक्त टोलीले केहि दिन अघि रातको पौने १२ बजे नियन्त्रणमा लिएको ट्याक्टर सव डिभिजन बन कार्यालय केराबारीको नियन्त्रणमा रहेको सहायक बन अधिकृत बिक्रम अमात्यले पूर्वी खबरलाई जानकारी दिनुभयो।

संरक्षित क्षेत्रबाट नियन्त्रणमा लिईएको सो ट्याक्टरले संघीय बन ऐन २०७६ अन्तरगतको कसुर गरेकोले सो ऐन अन्तरगत कारबाही हुने सहायक बन अधिकृत अमात्यले जानकारी दिनुभयो।

संघीय बन ऐन २०७६मा संरक्षितक्षेत्रमा अवैध रुपमा ढुंगा संकलन तथा ओसार पसारमा संलग्न साधनलाई बरामद सम्म गर्न सक्ने कानुनी प्रावधान रहेको छ।