उर्लाबारी/ मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या भएको छ। पाँचजनाको समुहमा आएको नचिनेको समुहले श्रेष्ठको हत्या भएको हो।

घरबाट कवि एक किलोमिटर टाडा पुर्‍याएर मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ बर्षीय श्रेष्ठको घाँटी रेटेर हत्या भएको घटनास्थल पुगेर फर्किएका मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले स्थानीय सञ्चारमाध्यमलाई बताउनुभयो।

मंगलबार बिहान सवा ६ बजेतिर चार–पाँच जनाको समूहमा आएको नचिनेको समुहले शिक्षक श्रेष्ठलाई बर्खे जंगलमा लगेर हत्या गरेको हो। सामाजिक अगुवासमेत रहेका श्रेष्ठको हत्या गरिएको मोरङ्गको बिकट स्थानमा रहेको घटनास्थलमा घटना भएको करिब ८ घण्टापछि प्रहरी पुगेको थियो। मोरङ प्रहरीको टोली घटनास्थलमा पुग्दा श्रेष्ठको दुवै हात बाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको बुझिएको छ।

मृतकको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको अनि दुवै हात पछाडी बाँधेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। स्थानीयले गोली चलेको आवाज सुनेको आधारमा गोली हानेर हत्या भएको जानकारी दिएपनि मृतकको शवमा गोली प्रहार भएको नदेखिएको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई घरबाट लगेको १ घण्टापछि गोली चलेको आवाज स्थानीयले सुनेका त्यसपछि स्थानीयले खोजी गर्ने क्रममा जंगलमा शव भेटेर प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ। मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले श्रेष्ठको अपहरण गरि हत्या भएको सूचना रहेको जानकारी दिनुभएको छ।

प्रदेश प्रहरी, मोरङ प्रहरीका डिएसपीसहितको टोली घटनास्थलमा पुगेर अहिले अनुसन्धान गरिरहेको र प्रहरीले सो क्षेत्रलाई शिलबन्दी गरेर हत्यामा संलग्नको खोजी गरिरहेको जनाएको छ।

सुराकी गरेको आरोप
नेत्र बिक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले श्रेष्ठलाई मोरङको मिक्लाजुङमा पार्टी बिरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ।

‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सुराकीको आरोपमा शिक्षक श्रेष्ठको हत्या गरेको सूचना आएको प्रहरी उच्च श्रोतले जनाएको छ। श्रेष्ठको घर नजिकैबाट दशैंमा प्रहरीले ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना नेतालाई हतियारसहित पक्राउ गरेको थियो।

प्रहरीका अनुसार मिक्लाजुङ क्षेत्र ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सैन्य अभ्यास गर्ने क्षेत्र हो। पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा ‘बिप्लब’ नेतृत्वको नेकपाले सैन्य अभ्यास गराउने गरेको जानकारीका आधारमा गत कात्तिक १२ गते मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो।

नेत्र बिक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने यसबारे अहिलेसम्म केही बताएको छैन।

-प्राईम एफएम अनलाईनको सहयोगमा