बिराटनगर/ मोरङ्गको बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ठूलो लगानीमा क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने भएको छ। २ अर्ब ४० करोड लगानी गरेर नोबेलले ‘नोबेल क्यान्सर अस्पताल’ सञ्चालन गर्ने भएको हो।

बिराटनगरको कञ्चनबारीस्थित नोबेल अस्पताल परिसरमा निर्माण गर्ने तयारी गरिएको क्यान्सर अस्पतालको बुधबार शिलान्यास गरिएको छ। अव एक बर्ष भित्रमा सुबिधा सम्पन्न क्यान्सर अस्पताल सञ्चालन गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिनुभयो।

सार्क राष्ट्रहरुमै हालसम्म नभएका अत्याधुनिक उपकरण राखेर क्यान्सर हस्पिटल चलाउने तयारी गरेको भन्दै डा.शर्माले अव क्यान्सर रोगीले दिल्ली लगायत क्षेत्रमा पुग्नुपर्ने बाध्यता हट्ने अनि नोबेलमै क्यान्सरको राम्रो उपचार गर्ने वातावरण मिलाउने बताउनुभयो। Photo--2

नोबेलले १ अर्ब २० करोड भन्दा बढी रकम अत्याधुनिक उपकरण खरिदमै खर्चने भएको छ। अमेरिकन कम्पनी भेरियन मेडिकल सिस्टम्सको एज वीथ हाइपरआर्क इन्टीग्रेटेड २४ च्यानल ब्राकीथेरापी सिस्टम र हेलकोन ई वीथ केभीलगायत अत्याधुनिक मेसिन किन्न सम्झौता भईसकेको अस्पतालले जनाएको छ।

शुरुवाती चरणमा क्यान्सरका बिरामीका लागि अत्याधुनिक मेसिनद्वारा थेरापी शुरु गरेर एक सय बेडको क्यान्सर अस्पताल सञ्चालन गर्ने तयारी गरिएको हो। नोबेलले बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै उपचार सेवामा स्तरीयता बढाउने क्रमलाई तीब्रता दिईरहेको छ।