बिराटनगर/ संखुवासभाको तुम्लिङटारकी मुना तामाङ चार दिनदेखि बेहोस थिईन्। होस नखुलेपछि ऋण खोजेर उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पताल पुर्याईएकी उनको उपचार सुरु गर्दा गर्दै अलिअलि भएको पैसा सकियो। परीक्षणमा ‘ब्रेन ट्यूमर’ को समस्या पत्ता लागेर डाक्टरले तत्काल अप्रेशन गर्नुपर्ने बताए पनि पैसा रित्तिदा बेहोस अवस्थामै उनलाई घर फर्काउँनुपर्ने अवस्था आयो। ज्याला मजदुरी गरेर जेनतेन परिवार पाल्दै आएका दिलिपले श्रीमतीको अप्रेशन खर्च जुटाउँने कुनै उपाय नभेट्दा मृत्युशैयामा पुगेकी मुनालाई बेहोस अवस्थामै घर फर्काउँने तयारी गरे।

अप्रेशन गर्ने पैसा नभएकै कारण मृत्युको मुखमा पुगेकी तामाङको अन्ततः नोबेल अस्पतालमै जटिल अप्रेशन भएको छ। त्यो पनि निःशुल्क। पैसा अभावमा उपचार गर्न नसकेर मृत्युशैयामा पुगेको बिरामीलाई घर फर्काउँन लागेको थाहा पाएपछि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले मुनाको निःशुल्क उपचारको व्यवस्था मिलाईदिएका हुन्। डिउटीमा रहेका स्वास्थ्यकर्मीबाट उपचार गर्ने पैसा नभएर बिरामी लैजान लागेको खबर पाएपछि डा.शर्मा बिरामीको अवस्था बुझ्न ईमर्जेन्सी कक्ष पुगेका थिए। उनले बिरामीको दयनीय अवस्था बुझेपछि सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था मिलाईदिएका हुन्। शल्यक्रिया सफल भएपछि अहिले मुनाको स्वास्थ्य अवस्था सामान्य छ। डा.शर्माको सहयोगका कारण आफु मृत्युको मुखबाट फर्किएको भन्दै मुनाले खुशी व्यक्त गरिन्। ‘गरिब परिवारको मान्छे, धेरै खर्च गरेर उपचार गर्न सक्ने अवस्था थिएन।’ उनले भनिन्–‘पैसा नभएर उपचार गर्न नसक्दा बेहोस अवस्थामा त्यत्तिकै मर्न लागेकी रहेछु। धन्न मनकारी मान्छेको साथ मिल्नाले निःशुल्क उपचार पाएर ज्यान जोगियो।’

डा.शर्माले मुनाको अप्रेशनसहित लाखौं मूल्य बराबरको औषधि उपचार खर्च निःशुल्क मात्र गरेनन् बेखर्ची बनेका बिरामी र कुरुवालाई खानाको व्यवस्था पनि मिलाईदिएका छन्। उपचार गर्ने पैसा नभएर बेहोस अवस्थामै घर फर्काउँन लागेको थाहा पाएपछि बिरामीलाई औषधि, उपचारसहित कुरुवालाई खानाको व्यवस्था मिलाईदिएको डा.शर्मा बताउँछन्। उनी भन्छन्–‘अफ्ठेरोमा परेकालाई सहयोग गर्नु मानबीय कर्तव्य हो। त्यसैले उहाँहरुलाई पनि सहयोग गरेको हुँ।’ नेपाली काँग्रेसका नेतासमेत रहेका डा.शर्माले यसअघि पनि हजारौं गरिब, बिपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार गराएका छन्।