इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले एकजना महिलासहित दुईजनालाई नियन्त्रणमा लिएको छ। अर्काको फेसबुक एकाउन्ट ह्याक गरेर रकम पठाउन लगाउने एकजना र रकम निकाल्न सहयोग गर्ने एकजना गरेर दुईजना पक्राउ परेका हुन्।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने एकजना महिलाले दिएको सूचनाको आधारमा इटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले सप्तरीको सितापुर गाउँपालिका–३ घर भई इटहरीस्थित एस.बि.आई. बैँकमा कार्यरत ३१ बर्षीय रामदेव साह र इटहरी –४ बस्ने २३बर्षीया मनिषा गिरीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका साहले बैकिङ प्रयोजनको लागि अरु नै महिलाले पेश गरेको कागजातको दुरुपयोग गरेर मनिषा गिरीलाई अनिता बनाएर रकम निकाल्न पठाएका थिए। रामदेवलाई सहयोग गरेको आधारमा प्रहरीले मनिषालाई पनि नियन्त्रणमा लिएको हो।

रामदेवले एकजना महिलाको फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रुपैँया पठाउ नत्र अश्लील तस्बिरहरू सामाजिक सञ्जालमा राखीदिन्छु भनी बिभिन्न डरत्रास देखाउने गरेका थिए।

प्रहरीले अनुसन्धान गर्ने क्रममा इटहरी उपमहानगरपालिका ६ स्थित एक आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकमसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय बारा पठाईएको इटहरी प्रहरीले जनाएको छ।