इटहरी/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को इटहरी उपमहानगर कमिटिको सचिवालय बैठकले २७ वटा बिभाग २७ वटै फ्याक्सनको गठन गरेको छ। उपमहानगर कमिटि अध्यक्ष बहादुरसिंह तामाङ्ग (ज्वाला)को अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रचार बिभाग, स्कूलिङ्ग बिभाग, संगठन बिभागलगायतका बिभागको गठन गरेको हो।

बैठकले प्रचार बिभागको प्रमुखमा नवराज नेपाल, स्कूलिङ्ग बिभागको प्रमुखमा अर्जुन उप्रेती यस्तै संगठन बिभाग प्रमुखमा गौरीमान परियारलाई जिम्मेवारी तोकिएको उपमहानगर कमिटि सचिव काशिनाथ दङ्गालले जानकारी दिनुभयो।

केन्द्रीय सचिवालयमा पार्टी एकता र सरकार सञ्चालनबारे बिवाद र बहस जारी रहेकै बेला सोही पार्टीको इटहरी उपमहानगर कमिटिको एकताले भने पूर्णता पाएको छ।

नेकपा इटहरी उपमहानगर कमिटि सचिव काशीनाथ दङ्गालले मंगलबार कमिटिको सचिवालय बैठक बसी एकता प्रक्रिया सम्पन्न गरिएको भन्दै मातहतका पार्टी कमिटि र सदस्यहरुलाई पार्टी एकता बिरोधी गतिविधि नगर्न निर्देशनसमेत बैठकमार्फत दिइएको बताउनुभयो।

उहाँले पार्टी एकताको पक्षमा दृढतापूर्वक कार्य सम्पन्न गर्न वडा कमिटि तथा शाखा कमिटिहरुलाई निर्देशनसमेत दिइएको बताउनुभयो।

बैठकमा केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला सह–इञ्चार्ज निर्मल बराल, प्रदेश समिति सदस्य एवं इटहरी उपमहानगर कमिटि इञ्चार्ज केशव बिष्ट, प्रदेश कमिटी सदस्य एवं इटहरी उपमहानगर कमिटि सह इञ्चार्ज चिरन्जीवी भट्टराई, जिल्ला सचिवालय सदस्य एवं इटहरी नगर इञ्चार्ज राजकुमार गिरी, प्रदेश कमिटि सदस्य भानु मैनालीलगायतको उपस्थिति थियो। सचिव दंगालले थप ४३३ जनालाई पार्टीको जिम्मेवारी प्रदान गरिएको बताउनुभयो।