इटहरी/ २०७७ भाद्र महिना देखि यता हालसम्म ८जना बलात्कारमा संलग्न कानुनी कारबाहीमा परेका छन्। यसमा नावालिग (१८बर्ष भन्दा मुनिका) देखि ५० बर्षीय बृद्द सम्म छन्। उल्लेखित ८ वटा घटनामा ९ जना संलग्न रहेको र एकजना फरार रहेका छन् भने अन्य ८ जना कानुनी दायरामा ल्याईएका छन्।

भाद्र ५ गते १४ बर्षीया बालिकालाई घर पुर्‍याईदिने बहानामा इटहरीस्थित डेरामा ल्याएर बलात्कार गर्ने साविक श्रीपुर जब्दी गाबिस ८ हाल कोशी गाउँपालिका ४ नहरचोक घर हाल इटहरीको बिजुली अफिस लाईनमा डेरा बस्ने ३०बर्षीय सद्दाम हुसेन र इटहरी ६ आईतबारे टोलमा डेरा गरी बस्ने २२ बर्षीय फैसल खान पक्राउ परेका छन्।

यस्तै भदौ २३ गते बिहान भोजपुर दोभाने गाउँपालिका वडा नम्बर ६ सालेवा घर भई इटहरी ५ मा डेरा गरी बस्ने २१बर्षीय प्रतिक राईले १४ बर्षीया बालिकालाई बिभिन्न डरत्रास एवं धाकधम्की दिई बलात्कार गरेको र राईलाई प्रहरीले पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ।

त्यस्तै गत असोज १२ गते ८ बर्षीया बालिकालाई ललाई फकाई बलात्कार गर्ने एक नाबालिग पक्राउ गरी आवश्यक कानुनी प्रकृया पुरा गरेको प्रहरीले जनाएको छ।

यसैगरी २०७६ पुष २७ गते देखी २०७७ भदौ ४ गतेसम्म इटहरी २मा बसोबास गर्ने सुरज भन्ने राम बहादुर तामाङ्गले आफ्नै घरमा १८ बर्षीया किशोरीलाई बलात्कार गरेको र तामाङ्गलाई पक्राउ गरेर कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ।

यस्तै असोज ७ गते बिहान इटहरी ५ मा सुनसरीको रामधुनी नगरपालिका ६ पोखरीटोल बस्ने ३४ बर्षीय सुदिप राजधामीले २७ बर्षीया महिलालाई धाकधम्की दिएर डर त्रासमा पारेर बलात्कार गरेको र राजधामीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको प्रहरीले जनाएको छ।

यसैगरी कात्तिक १३ गते ९ बर्षीया बालिकालाई पैसा समेत दिएर डरत्रास देखाउँदै बलात्कार गर्ने इटहरी १९ बस्ने ५० बर्षीय कुमार भन्ने बुद्दे राईलाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ।

यस्तै कात्तिक ३० गते राति १४ बर्षीया बालिकालाई इटहरी ७ मा बलात्कार गर्ने एकजना नावालिगलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया पुरा गरेको इटहरी प्रहरीले जनाएको छ।

यस्तै असोज १ गते १८बर्षीया युवतीलाई बिवाह गर्ने प्रलोभन दिएर बलात्कार गरेर फरार भएका रोशन चौधरीको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

यसैबीच मुलुकी अपराध संहिता २०७४मा १०बर्ष सम्मका बालिका वा पूर्ण अशक्त, अपांगता भएका वा ७० बर्ष भन्दा माथीका महिला बलात्कृत भएर दोषीलाई जन्मकैद हुने ब्यवस्था छ।

यस्तै १० बर्ष देखि १४ बर्षसम्मका बालिका बलत्कारमा संलग्नलाई १८बर्षदेखि २० बर्षसम्म कैद हुने ब्यवस्था छ। यस्तै १४ देखि १६बर्षकी किशोरी बलत्कार भएमा १२ देखि १४ बर्ष सम्म कैद हुने ब्यवस्था छ। १६ बर्षदेखि १८ बर्ष सम्मकी किशोरी बलात्कृत भए १० बर्षदेखि १२ बर्षसम्म कैद हुने ब्यवस्था छ। यसैगरी१८ बर्षदेखि माथी ७० बर्षसम्मका महिला भए ७देखि १०बर्ष सम्म कैद हुने ब्यवस्था छ।

यस्तै १८ बर्ष भन्दा मुनिका किशोरीको सहमतिमै यौन सम्बन्ध स्थापित भएमा त्यो पनि बलत्कार ठहरीने मुलुकी अपराध संहिता २०७४मा उल्लेख छ। त्यस्तै बलात्कार पछि हत्या भए कर्तब्य ज्यान अन्तरगत एवं जबजस्ति करणी सम्बन्धि कसुर अन्तरगत कारबाही हुने कानुन छ।

यसैगरी बलात्कारमा संलग्न ब्यक्ति १८ बर्ष भन्दा कमको भए बालसुधार गृहमा राखिने र नाबालिग (१८बर्ष पुगेपछि) कारागार चलान गरिने ब्यवस्था छ।

यस्तै भदौ २५ यता अरु बिभिन्न घटनामा संलग्न ६७ जनालाई इटहरी प्रहरीले कानुनी दायरामा ल्याईसकेको छ। जसमा बालुवा तस्करी गर्ने देखि इमोमा ठगि गर्ने सम्मका छन्।

यो समाचार पढ्न छुटाउनुभयो कि ?

 प्र.ना.उ.केसीले इटहरी प्रहरीको नेतृत्व सम्हाले यता आए ६७ जना कानुनी दायरामा