इटहरी/ पछिल्लो दुई महिना यता इटहरी प्रहरीले उत्कृष्ट कार्य सम्पादन गरिरहेको छ। दुई महिना यता समाजमा हुलदंगा मच्चाउने देखि टोले गुण्डा अनि गैरकानुनी काम गर्नेहरु धमाधम पक्राउ गरेर इटहरी प्रहरीले कानुनको दायरामा ल्याईरहेको छ।

इटहरी प्रहरीले दशै तिहारमा जुवा खेल्ने खेलाउनेहरु करिव १५० जना जति, यस्तै मोटरसाईकल चोर, कार चोर, मोवाईल चोरहरुलाई एकपछि अर्को गर्दै कानुनी दायरामा ल्याईरहेको छ। यस्तै पूर्व क्षेत्रमा सम्भवत सबैभन्दा बढि पटका नियन्त्रणमा लिएको इटहरी प्रहरीले अबैध रेडबुल नियन्त्रणमा लिएर राजस्वमा बुझायो। 

यसै शिलशिलामा बिभिन्न मुद्दाहरुमा प्रतिवादी कायम भई फरार रहेका अदालतबाट कैद जरीवाना तोकिएका तीनजनालाई बिभिन्न मितिमा पक्राउ गरेर बिहिबार सार्वजनिक गरेको छ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलिले इटहरी १९का निर्मल लिम्बु र रुपक थापा अनि इटहरी २ का सञ्जयकुमार साहलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

प्रहरीले लागुऔषध मुद्दामा एक लाख रुपैँया जरिवाना तोकिएका इटहरी १९ का निर्मल लिम्बु, बैँकिङ मुद्दामा ५ दिन कैद १६ हजार ५ सय रुपैँया जरिवाना भएका इटहरी २ का सञ्जय कुमार साह र बैदेशिक रोजगार कसुरमा १८ महिना कैद र एक लाख ५० हजार जरिवाना भएका इटहरी १९का रुपक थापालाई पक्राउ गरेको हो।

पक्राउ गरेका तीनैजनालाई बिहिबार सुनसरी जिल्ला अदालत पेश गरेको प्रहरीले जनाएको छ।