डेस्क/ मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना संक्रमणबाट १० जनाको ज्यान गएको छ। बिराटनगरका बिभिन्न अस्पतालमा ८ जनाको र होम आइसोलेसनमा २ जनाको ज्यान गएको हो।

ज्यान गुमाउनेमा ८ जना पुरुष र २ जना महिला छन्। बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मंगलवार ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। यस्तै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा २जनाको, न्यूरो कोभिड अस्पतालमा एकजनाको र होम आइसोलेसनमा २जनाको ज्यान गएको हो।

नोबेल शिक्षण अस्पतालमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७बर्षीय संक्रमित पुरुषको मंगलवार ज्यान गएको छ। मृतकलाई कोरोना पुष्टि भएपछि कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो। सोही अस्पतालमा झापाको गौरादह–५ का ६५ बर्षीय पुरुषको ज्यान गएको छ। मृतकको पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो।

यसैगरी झापाको हल्दिबारी–४ का ७०बर्षीय संक्रमित पुरुषलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएकामा मंगलवार ज्यान गएको छ। त्यसैगरी उदयपुरको त्रियुगा–३ का २१बर्षीय संक्रमित युवाको उपचारका क्रममा सोही अस्पतालमा ज्यान गएको छ। मृतक युवालाई कोरोना पोजिटिभ आएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएको थियो।

नोबेलमा नै मोरङको रतुवामाई नगरपालिका–९ का ७७ बर्षीय संक्रमित पुरुषको ज्यान गएको छ। मृतकलाई कात्तिक २२ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

यस्तै बिराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सुनसरीको इटहरी–५ का ६९बर्षीया महिलाको ज्यान गएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो। कात्तिक १३ गते पोजिटिभ रिर्पोट आएपछि मृतकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

सोही केन्द्रमा बिराटनगर–३ का ७७ बर्षीय पुरुषको पनि उपचारका क्रममा ज्यान गएको छ। मृतकलाई कोरोना पुष्टि भएपछि कात्तिक २२ गते केन्द्रमा भर्ना गरिएको थियो।

यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका–७ की ७७बर्षीया महिलाको आफ्नै घरमा ज्यान गएको छ। मृतकलाई कात्तिक २४ पोजेटिभ देखिएको र होम आइसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ। त्यस्तै बिराटनगर–३ का ८९बर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा सोमवार राति ज्यान गएको छ। कोरोना संक्रमणपछि मृतक होम आइसोलेसनमा बसेका परिवारले जनाएको छ।

यसैगरी न्यूरो कोभिड अस्पताल बिराटनगरमा मोरङको कटहरी–२ का ५०बर्षीय पुरुषको सोमबार राति ज्यान गएको छ। मृतकलाई कात्तिक २१ उपचारका लागि भर्ना गरेको दिन पोजिटिभ देखिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताउनुभयो। मृतकमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मिर्गाैला र मुटुसम्बन्धी पुरानै समस्या थियो।