केराबारी/ मोरङ्गको उत्तर क्षेत्रमा पर्ने स्थानीय तह केराबारीमा शशस्त्र प्रहरी बलले सकृयता बढाएसँगै प्राकृतिक श्रोत(ढुंगा) चोरीमा सकृयहरुको भागाभाग भएको छ। स्थानीय प्रहरी मुकदर्शक भएपनि शशस्त्र प्रहरी बल लक्ष्मीमार्गले बाक्लो गस्ति गर्न थालेपछि ढुंगाचोरहरुको भागाभाग भएको हो।

शशस्त्र प्रहरी बल लक्ष्मीमार्गबाट शशस्त्र प्रहरीले गस्ती बढाएसँगै स्थानीय ढुंगा चोरहरुको भागदौड हुने गरेको छ। स्थानीय ट्याक्टर ब्यवसायीहरु केराबारी गाउँपालिका भएर बग्ने खोलाहरुबाट अनधिकृत तवरले प्राकृतिक श्रोत(ढुंगा)को चोरी गर्ने गरेका छन्। उनिहरुले मध्यरातमा सम्म ढुंगा चोर्ने गरेका छन्।

इलाका प्रहरी कार्यालय केराबारीले ‘वेवास्ता’ गर्ने गरेका कारण ढुंगाचोरहरुले ‘निर्वाध रुपमा’ ढुंगा चोर्ने गरेका छन्। केराबारी गाउँपालिकाले स्पष्ट कानुन नबनाएका कारण ढुंगा चोरहरुले ‘उच्च मनोबल’ले प्राकृतिक श्रोतको दोहन गर्ने गरेका छन्।

ढुंगा चोरहरु पटक पटक पक्राउ परेपनि स्पष्ट कानुनको अभावमा नगन्य मात्राको जरिवाना तिर्दै उन्मुक्ति पाउने गरेका छन्।

यसैबीच शशस्त्र प्रहरी बल लक्ष्मीमार्गले शनिबार बिहान २ बजे केराबारी ६ मुगुखोलाबाट अनधिकृत रुपमा ढुंगा उत्खनन् गरेर ढुवानी गर्दै गरेका दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ। शशस्त्र प्रहरीले को २ त ४१०९ नम्बरको ट्याक्टर र को २ त ५६४० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ।

शनिबार नियन्त्रणमा लिएका ति ट्याक्टर गाउँपालिकामा जरिवाना बुझाएर छाडिएको बुझिएको छ।

यस्तै सोमबार मात्र शशस्त्र प्रहरी बल लक्ष्मीमार्गले केराबारी ९स्थित हचुवा र भलुवा खोलाको बीचबाट दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ। शशस्त्र प्रहरीले नम्बर स्पष्ट नदेखिने जोन डियर कम्पनीको एउटा र को २ त २९३९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ। शशस्त्र प्रहरीले सोमबार नियन्त्रणमा लिएका दुइवटै ट्याक्टर शशस्त्र प्रहरी बल लक्ष्मीमार्गको नियन्त्रणमा रहेको जनाईएको छ।