बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दशैंमा पनि खुल्ला हुने भएको छ। कोरोनाको महामारीलाई मध्यनजर गर्दै दशैं बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ।

कोरोनाको महामारी बढिरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दशैंको अवधिमा पनि पीसीआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिनुभएको छ। दशैंमा पनि पीसीआर परीक्षण नरोकिने भन्दै डा. नेपालले आँफुहरुले दशैं बिदामा पनि पीसीआर परीक्षण गरेर ५ घण्टामै रिपोर्ट दिने व्यवस्था मिलाएको बताउनुभयो।

दुईटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिन ल्याएर गत असोज ११ गतेदेखि नोबेलले पीसीआर परीक्षण गर्दै आएको छ। नोबेलले अस्पतालमा आउनेको मात्र नभई गाउँ–गाउँमा गएर पनि स्वाब संकलन गरी अतिरिक्त शुल्क बिना नै पीसीआर परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ।

यता, दशैं बिदाका कारण शुक्रबारदेखि मंगलबारसम्म पाँच दिन ओपीडी सेवा बन्द हुने भएपनि सो अवधिमा आकस्मिक अवस्थाका सबै बिरामीको उपचार ईमर्जेन्सीबाट गरिने नोबेल अस्पतालले जनाएको छ।