इटहरी/ तीन बर्षअघिदेखि अबैध रुपमा सञ्जय झाले इटहरीमा सञ्चालन गरिरहेको बिराट पाथीभरा पोलिक्लिनिकमा उपमेयर लक्ष्मी गौंतमले तालाबन्दी गरिदिएकी छन्। स्वास्थ्य बिभागलगायतका निकायबाट अनुमति नलिई गैंर कानूनी रुपमा सञ्चालनमा रहेको सो पोलिक्लिनिकमा बुधबार उपमहानगरपालिकाले तालाबन्दी गरिदिएको हो।

इटहरी ४ मा कम्पनी रजिष्टार कार्यालयमा मात्र दर्ता गरि तीन बर्षअघिदेखि सञ्चालनमा रहेको सो पोलिक्लिनिक अबैध रुपमा सञ्चालन हुँदै आएको थियो। सञ्चालक झाले फार्मेसी मात्र सञ्चालन गरेको पटक पटक दावी गरेपनि बिराट पाथीभरा पोलिक्लिनिक बोर्ड नै राखेर अस्पताल सञ्चालन गर्दै आएका थिए।

बुधबार औषधी व्यवस्था बिभाग, इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरीसहितको टोलीले अनुगमनका क्रममा बिना दर्ता बिराट पाथीभरा पोलिक्लिनिक सञ्चालन गरेको पाईएकाले तालाबन्दी गरिएको हो।

सञ्चालक झाले केही महिना अघि आफ्नो बिराट पाथीभरा पोलिक्लिनिक १५ बेड सहितको दर्ता रहेको भन्दै सुनिल शर्मा आर्चायलाई ढाँटेर बिक्री गर्न खोजेका थिए। आफुपनि २५प्रतिशत शेयर रहने गरि उनले बिक्रीका लागि आर्चायसँग कागज पनि गरेका थिए। आर्चायले कागज गरेको केही समयमै झाले आफुलाई ढाँटेर दर्ता बिनाको बिराट पाथीभरा पोलिक्लिनिक बिक्री गर्न खोजेको चाल पाएपछि छाडिदिएका थिए।

बिराट पाथीभरा पोलिक्लिनिक दर्ता नभएको चाल पाएपछि आर्चायले पूर्वाधार लगायतको मापदण्ड पुगे सञ्चालन गर्ने सोचका साथ कम्पनी रजिष्टार कार्यालयमा दर्ता गरि अनुमतिका लागि इटहरी उपमहानगरकै स्वास्थ्य शाखामै फायल पेश गरेका थिए।

उपमहानगरको स्वास्थ्य शाखाले पूर्वाधार नपुग्ने बताएपछि आर्चायले तत्कालै पूर्व सञ्चालक झा र घरधनीलाई जानकारी दिई आफुहरु अवका मितिबाट अस्पताल नआउने भन्दै छाडिएका थिए। आर्चायले आफुहरुलाई १५बेडको दर्ता भएको अस्पताल भनि झाले ठगि गरि बिक्री गरेको र आफुहरु झाबाट ठगिनुका साथै अनावश्यक रुपमा प्रताडित भएको जनाउ दिदै इटहरी उपमहानगरपालिकाको न्यायिक समितिमा उजुरी समेत दर्ता गराएका थिए।

आर्चायका अनुसार कोशी पाथीभरा कम्पनीमा मात्रै दर्ता गरिएको र यसको नाममा कुनैपनि कारोवार नै गरिएको छैन। बिराट पाथीभरा पोलिक्लिनिकमा रहेको फार्मेसीमा लाइसेन्स नभएका पढ्दै गरेका व्यक्ति बस्दै आएका थिए। अनुगमनका क्रममा सो पोलिक्लिनिकबाट म्याद गुज्रिएका केही औषधी पनि बरामद गरिएको छ।

बिराट पाथीभरा पोलिक्लिनिक सञ्चालक सञ्जय झाले तीन बर्षअघिबाट आफुले फार्मेसी मात्र सञ्चालन गरेको दावी गरेका छ्न्। उनले बिराट पाथीभरा पोलिक्लिनिक दर्ताको प्रकृयामा रहेको बताउँदै आएका छन् तर उनले अस्पताललाई आवश्यक पर्ने सबै सामाग्री राख्नुका साथै बिराट पाथीभरा पोलिक्लिनिक बोर्ड राखेर अस्पताल नै सञ्चालन गर्दै आएका थिए।

बिराट पाथीभरा पोलिक्लिनिकमा कार्यरत केही कर्मचारीहरुले आफुहरुले काम गरेको ८ महिनाको तलब नपाएको भन्दै केही दिनअघि श्रम कार्यालय बिराटनगर र इटहरी उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयमा निवेदन दर्ता गराएका थिए।

उनिहरुले आर्चायले तलब दिनुपर्ने दावी गरेका छन् तर कोशी पाथीभराको नामबाट अस्पताल सञ्चालन पनि नभएको र कर्मचारीलाई कुनै प्रकारको नियुक्ती नगरेको आर्चायले बताएका छन्।