सुनसरी/ हिन्दुहरुको महान चाड वडादशैँ नजिकिँदै जाँदा चोरीको घटनासमेत बढ्ने गरेको छ। इटहरी प्रहरीले चाडबाड लक्षित सकृयता बृद्वि गरेसँगै कात्तिक एक गते शनिबार तीनजना चोर समातेको हो।

दुईजना मोटरसाईकल चोरलाई रंगेहात र हार्डवेयर पसल चोरलाई घटना भएको १६ दिनपछि समातेको हो। मोटरसाईकल चोरलाई कात्तिक १ गते साँझ इटहरी ६स्थित रिजाल भिजन पार्टी प्यालेस अगाडि पार्किङ गरेको को.२४.प ७५९६ नम्बरको सुपर स्पेलेन्डर मोटरसाईकल चोर्दै गर्दा सुनसरीको देवानगञ्ज गाउँपालिका ३ का २१ बर्षीय मनोज मेहता र २० बर्षीय रमेश मेहतालाई रंगेहात पक्राउ गरेको छ।

घटनामा संलग्नहरुले इटहरी ५का दयाराम भट्टराईको नाममा दर्ता रहेको सो मोटरसाईकलमा साचो मिलाई चोरी गर्दै गरेको सादा पोशाकमा खटिएका प्रहरीले रंगेहात पक्राउ गरेका थिए।

यस्तै गएको असोज १४ गते राती इटहरी ६को एउटा हार्डवेयरको पछाडिको ढोका फोडेर भित्र छिरेर पसलको गल्ला फोडि नगद चौरहत्तर हजार चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा इप्रका इटहरीको अनुसन्धान टोलीले चोरीमा संलग्न सोही हार्डवेयरमा काम गर्ने ब्यक्तिलाई पक्राउ गरेको हो।

प्रहरीले इटहरी ४मा डेरा बस्ने २१ बर्षीय सुरज महलीलाई पक्राउ गरेको हो। प्रहरीले महलीको कोठाबाट चोरी गरेको मध्य बयालिस हजार सातसय रुपैँया नगद र एउटा नयाँ मोवाईल सेटपनि बरामद गरेको छ। प्रहरी चोरीमा संलग्न तीनैजनाको बिषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसरी पक्राउ परे मोटरसाईकल चोरहरु
कात्तिक १ गते शनिवार बिहान ११ बजेतिर दुईजना व्यक्ति इटहरीस्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडीको पार्किङ गरिएको एउटा बाइक नजिक उभिएर शङ्कास्पद गतिविधि देखाउन थालेपछि त्यही डिउटीमा खटिएका सादा पोसाकका एकजना प्रहरीलाई शङ्का लाग्छ।

शुरुमा ले पार्किङ गरी राखेको बाइक छेउमा बसेर धेरैपटक बाइक नियाल्छन्। अर्को व्यक्ति भने मान्छेको निगरानी गर्छन्। करिब १५ मिनेटपछि एकजनाले गोजीबाट ‘मास्टर’ चाबी निकाल्दै निलो रगंको पल्सरमा चाबी घुसाउँछन् तर चाबीले काम नगरेपछि दुवैजना त्यहाँबाट पैदलै इटहरी चौक हुँदै पूर्व लाग्छन्।

बाइक चोरी गर्ने उनीहरुको योजना स्पष्ट भएपछि प्रहरीले उनीहरुलाई पछ्याउन थाल्छ। अनि थप मद्दत बोलाएर ४जनाको सादा पोसाकको प्रहरीले दुवैजनालाई पछ्याउछ।

ति ब्यक्ति ट्यांग्रा पुल नजिकैबाट बुधबारे हाटतर्फ मोडिन्छन्। केही अलमल गरेजस्तै गरी उनीहरु रिजाल भिजन पार्टी प्यालेस अगाडीको पान पसलमा गुट्खा किन्छन्। त्यही अगाडी पार्किङ गरेको २२० सिसिको पल्सरमा उनीहरुको ध्यान पुग्छ । एकजना फेरी बाइक नजिक पुग्छन् र बाइक नियाल्छन् तर बाइक धनी केही क्षणमै आएर बाइक त्यहाँबाट लिएर हिड्छन्।

दोश्रो पटकको प्रयास पनि असफल भएपछि उनीहरु केही समय त्यही अल्मलिन्छन् त्यहि समय चारै दिशाबाट सादा पोसाकका प्रहरीले उनीहरुलाई घेरेर उनीहरुको गतिविधि प्रत्यक्ष नियाली रहेका हुन्छन्।

केही क्षणपछि रिजाल भिजन पार्टी प्यालेस छिर्ने बाटोमा हिरो कम्पनीको को २४ प ७५९६ नम्बरको सुपर स्पेलेन्डर रोकेर बाइक धनि बजार भर्न निस्कन्छन्। त्यही मौकामा उनीहरुको साथमा रहेको मास्टर चाबीको मद्दतले बाइकको लक खोल्न खोज्छन्।

प्रत्यक्ष नियालिरहेका प्रहरीले उनीहरुलाई बाइकसहित केही मिटर अगाडी बढेपछि मात्र रंगेहात पक्राउ गर्ने योजना बनाउँछन् नभन्दै मास्टर चाबीले लक खुल्छ र बाइक स्टाट हुन्छ। दुवैजना बाइक स्टाट गरेर उत्तर तर्फ भाग्न खोज्छन् तर केही मिटर अगाडीमा ‘स्टेनवाई’ बसेको प्रहरीले उनीहरुलाई तत्कालै रंगेहात पक्राउ गरेको हो।