न्युजडेस्क/ सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी समूह (रेपर एसोशिएसन) बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक पेज र समूह बनाउने नवीन बस्नेतलाई पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार पक्राउ पर्ने बस्नेत प्यूठानको झिम्रुक गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्। उनी पछिल्लो समय नवलपरासीको कावासोती नगरपालिकामा बस्दै आएका थिए।

अर्यालका अनुसार १९ वर्षीय बस्नेतलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागेको छ। उनीविरुद्ध काठमाडौंमा प्रकाउ पूर्जी जारी भएको थियो। बस्नेतलाई पक्राउ गर्नका लागि नवलपरासी र बर्दघाट सुस्ता पूर्वका प्रहरीले सहयोग गरेका थिए।

प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा बनाइएको बलात्कारी संगठन नामक फेसबुक पेज र समूहबाट बलत्कारजस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचार विरुद्धको सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउनेलगायतका गतिविधि हुने गरेका थिए।

पछिल्लो समय नेपालमा दैनिक ७ वटा बलात्कारका उजुरी दर्ता हुने गरेका गृह मन्त्रालयले जनाएको छ। बझाङकी बालिका सम्झना कामीको बलात्कार र हत्या भएपछि पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेका थिए । काठमाडौं लगायत मुलुकका विभिन्न सहरमा बलात्कारीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन भएका थिए।

ती प्रदर्शन भएपछि सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक पेज बनेको थियो। जसको व्यापक आलोचना भएको थियो भने त्यसका सञ्चालकलाई कारबाही गर्न प्रहरीलाई आग्रह गरिएको थियो।