काठमाण्डौ/ मन्त्रिपरिषद् बैठकले बिहीबार रिक्त रहेका मन्त्रालय र आयोगका १० सचिवहरुको सरुवा गरेको छ। तीनजना मन्त्रीहरुले शपथ लिएपछि बसेको बैठकले सचिवहरूको हेरफेरको निर्णय लिएको हो ।

झन्डै एक महिना बढी जगेडामा राखेर प्रधानमन्त्री कार्यालयको सचिवको जिम्मेवारी दिएका केदार न्यौपानेलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ। उपराष्ट्रपति कार्यालयका खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्य गौतम युवा तथा खेलकुदमा र युवा खेलकुदका रामप्रसाद थपलिया सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन्।

काठमाण्डौ महानगरपालिकाका प्रशासकीय अधिकृत एकनारायण अर्याललाई पर्यटनको जिम्मेवारी दिइएको छ। पर्यटन मन्त्रालयमा सचिव रिक्त थियो। भौतिक पूर्वाधार मन्त्रालयका देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा लगिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधारमा ल्याइएको छ। स्वास्थ्य मन्त्रालयबाट केही महिनाअघि प्रधानमन्त्री कार्यालय तानिएका यादव कोइरालालाई संघीय मामिलामा लगिएको छ।

जल तथा ऊर्जा आयोगमा रहेका रमेशप्रसाद सिंहलाई सहरी बिकास मन्त्रालयमा सरुवा गरिएको छ। सहरी बिकासका मधुसुदनप्रसाद अधिकारीलाई ऊर्जामा सरुवा गरिएको छ।