बिराटनगर/ मोरङमा दशैं, तिहार, छैठलगायतका चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले बिशेष र महत्वपूर्ण सुरक्षा योजना तयार पारेको छ। प्रहरीले सम्भावित र बिगतमा भएका घटना एवं आपराधिक गतिविधीलाई आधार मानेर बिशेष ढंगले सुरक्षा योजना तयार पारेको हो।

कोरोना संक्रमण तीव्र रुपमा बढिरहे पनि शुरु हुन लागेको चार्डपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनलाई उचित सुरक्षा प्रबन्ध मिलाउन मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का आफै फिल्डमा खटिने हुनुभएको छ।

एसपी खड्काले प्रदेश राजधानी बिराटनगरलगायतका ठाउँमा प्रहरीको बिशेष टोली परिचालन गर्दै सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयनतर्फ लान थालिएको बताउनुभएको छ। एसपी खड्काले धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिर लगायत भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने ठाउँको सुरक्षा व्यवस्था मिलाउन निगरानी बढाउन थालिएको बताउनुभएको छ।

भीडभाडमा हुने चोरी, डकैती र लुटपाटका घटना हुन नदिन प्रहरी चनाखो रहेको र मादक पदार्थ सेवनबाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव लगायतमा पनि प्रहरीले ध्यान दिन थालेको छ।

चाडपर्वमा यातायातको सहज उपलब्धता, चुस्त ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागुऔषधको अवैध ओसार पसार नियन्त्रणमा अहिलेदेखि प्रहरी सकृय भएको छ। बैंक तथा बित्तिय संस्था, आर्थिक गतिविधी एवं सुनचाँदीको कारोबार बढी हुने ठाउँ, सरकारी कार्यालय, एटीएम बुथ र पसलहरुमा निगरानी बढाउन प्रहरीको बिशेष टोली खटाइएको छ।

चाडपर्वमा हुने चोरी तथा लुटपाटका घटना तथा अवैध मदिराको ओसारपसार र बिक्री नियन्त्रणमा प्रहरीले बिशेष ध्यान दिइरहेको भन्दै मोरङ प्रहरी प्रमुख खड्काले जुवा, तासलगायत गैह्रकानुनी खेलहरु र शान्ति भड्काउने समूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने बताउनुभयो।

एसपी खड्काले उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिने तयारी गर्दै होटल, लज एवं रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाइएको बताउनुभयो।

शंकास्पद व्यक्तिहरु एवं सार्वजनिक स्थलमा हुने गतिविधीको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन नियन्त्रण, सीमा क्षेत्रमा कडाई, मदिराको ओसारपसार, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान प्रहरीको प्राथमिकतामा परेका छन्।

मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक स्थलहरुमा हो–हल्ला एवं झै–झगडा गर्नेलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले कारबाही अघि बढाउने छ। यसका लागि अवैध मदिरा ओसारपासर र बेचबिखनलाई प्रहरीले पूर्ण निगरानीमा राखेको एसपी खड्काले बताउनुभयो।

सवारी आवागमनलाई व्यवस्थित रुपमा सुचारु राख्ने र आकस्मिक एवं संयुक्त चेकजाँच गरिने भन्दै खड्काले मापसे गरेर सवारी साधन चलाउन प्रहरीले पूर्ण रुपमा रोक लगाएको छ। चन्दा आंतक ठगी, गुण्डागर्दीजस्ता क्रियाकलाप नियन्त्रण प्रहरीको प्राथमिकतामा छ।

महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिकबिरुद्ध हुन सक्ने अपराधको रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न उपाय अवलम्बन गरिने भएको छ। सुनचाँदी पसल, आर्थिक कारोबार हुने बैंक, बित्तिय संस्था एवं मुख्य बजार पसलहरु र महत्वपूर्ण प्रतिष्ठानमा २४ सै घण्टा चेकजाँच शुरु गरिएको छ। अन्य सुरक्षा निकायसँग समन्वय गरेर सबै सरोकारवालालाई सजग गराउँदै सर्तकता अपनाउन थालिएको खड्काले बताउनुभयो।

सुरक्षा चेतना अभियान चलाईने

मोरङमा सुरक्षा चेतना अभियान घटस्थापनाको दिनभन्दा एक साता अघिदेखि थालिने भएको छ। सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पार्ट्स’सँगको समन्वय र सहकार्यलाई पनि प्रहरीले महत्व दिएको छ। पिकेट, मोबाइल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था मिलाउँदै महत्वपूर्ण प्रतिष्ठानमा विशेष निगरानी बढाइएको खड्काले बताउनुभयो।

१४ वटा महत्वपूर्ण प्रतिष्ठानमा २४ घण्टानै सुरक्षा
बिराटनगर क्षेत्रभित्र रहेका १४ वटा महत्वपूर्ण प्रतिष्ठानमा २४ घण्टानै सुरक्षा प्रदान गर्न थालिएको जानकारी दिँदै एसपी खड्काले प्रतिष्ठान सुरक्षाका लागि मात्रै ९६ जना प्रहरी खटाइएको बताउनुभयो।

एक हजार दुई सय ३३ प्रहरी आवश्यक
मोरङमा एक हजार दुई सय ३३ प्रहरी चाडपर्व सुरक्षाका लागि आवश्यक पर्ने देखिएको छ। नौ सय ६० जना जिल्लाभित्रबाटै खटाउन सकिने र अरु दुई सय ७३ जना माथिल्लो कार्यालयबाट माग गरिएको छ।

चाडपर्व लक्षित सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न र अपराधिक गतिविधीलाई नियन्त्रणमा लिन लागि सादा पोशाककासहित बिशेष टोली परिचालन गरिएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण एवं रोकथामका लागि तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईकासाथ पालना गराउन पनि प्रहरी सक्रिय भएर लागेको खड्काले बताउनुभयो।

चाडपर्वमा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासँग समन्वय गरेर अत्यावश्यक सेवाका साधनहरु एम्बुलेन्स र दमकल तयारी अवस्थामा राखिने खड्काले बताउनुभयो।

बिष्फोटक पदार्थलाई निष्कृय पार्न बिशेष टोलीका लागि नेपाली सेनासँग समन्वय भइरहेको खड्काले बताउनुभयो। चाडपर्वको अवधिमा हुन सक्ने सवारी दुर्घटना नियन्त्रणमा पनि प्रहरीले चासो राखेको छ। कुनै पनि घटनामा परेर घाइते भएकाको उपचारका लागि कोशीलगायत सबै अस्पताललाई २४ घण्टानै तयारी अवस्थामा राख्न प्रजिअसँग समन्वय भइसकेको प्रहरीले जनाएको छ।