बिराटनगर/ मोरङ्गको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारदेखि पीसीआर परीक्षण शुरु गरेको छ। प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउन ढिलाई भईरहेका बेला नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण शुरु गरेको हो।

नोबेलले एक महिना अघि नै पीसीआर ल्याब तयार गरेर परीक्षणको सम्पूर्ण तयारी पुरा गरेको भएपनि सरकारी स्तरबाट एक महिना ढिलाई गरी आईतबार परीक्षणको अनुमति प्राप्त भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै पीसीआर परीक्षण थालिएको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिनुभयो। PCR Lab

आँफुहरुले पीसीआर मेसिन ल्याएर ल्याब बनाई परीक्षणका लागि एक महिना अघि नै सम्पूर्ण तयारी गरेर अनुमति पर्खिरहेको भन्दै डा.शर्माले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएपछि पीसीआर परीक्षण शुरु गरेको बताउनुभयो।

कोरोना परीक्षणका लागि नोबेलले दुईवटा अत्याधुनिक अमेरीकन पीसीआर मेसिन ल्याएको छ। सुरक्षित तवरले परीक्षणका लागि नोबेलले बेग्लै ल्याब निर्माण गरेर पीसीआर परीक्षण थालेको हो। दुईटा पीसीआर मेसिन भएकाले एकदिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने नोबेलका बरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंहले बताउनुभयो। सिंहले ४ देखि ६ घण्टा भित्रै रिपोर्ट दिईने बताउनुभयो।

परिक्षण शुल्क १५५०रुपैँया मात्र
यता, नोबेलले पीसीआर परीक्षण शुल्क १ हजार ५ सय ५० रुपैयाँ तोकेको छ। यो मूलुककै सबैभन्दा सस्तो पीसीआर परीक्षण शुल्क हो।

यसअघि सरकारले ५ हजार ५ सय पीसीआर परीक्षण शुल्क तोकेका बेला नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले २ हजार ४ सय ९९ रुपैयाँमै पीसीआर परीक्षण गर्ने घोषणा गर्नुभएको थियो। नोबेललाई परीक्षण अनुमति दिन ढिलाई गरेर सरकारले सोहीबीचमा परीक्षण शुल्क दुई पटक घटाई २ हजार कायम गरेको छ। PCR Machine

यसबीचमा सरकारले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको थियो। काठमाडौं मेडिकल कलेज अध्यक्षको जिम्मेवारीसमेत सम्हाल्नुभएका डा.शर्माले सरकारले तोकेको भन्दा १ हजार ९ सय कम शुल्क अर्थात २ हजार ५ सय मै केएमसीमा पीसीआर परीक्षण गराउनुभएको थियो।

अहिले केएमसीमा १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण हुँदै आएको छ।