सुनसरी/ कोरोना महामारीका कारण व्यवसाय बन्द हुँदा मर्कामा परेका व्यवसायीको राहतका लागि इटहरी उपमहानगरपालिकाले कर छुट दिने भएको छ। उपमहानगरपालिकाले आर्थिक बर्ष २०७२/७३ को सम्पूर्ण व्यवसाय कर मिनाहा गरेको हो।

महामारीबाट व्यवसाय संकटमा परेका साना व्यवसायीलाई लक्षित गरी कर मिनाहा गरेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको भनाई छ।

उपमहानगरपालिकाले २०७३/७४ देखि हालसम्मको व्यवसाय कर २०७७ माघ मसान्तसम्म बुझाए जरिवाना नलिने जनाएको छ। यस्तै २०७६/७७ को कर भुक्तान गर्नेलाई २५ प्रतिशत र २०७७/ ७८ को कर बुझाउनेलाई माघ मसान्तकै सीमाभित्र २० प्रतिशत छुट दिने भएको छ।

उपमहानगरपालिकाले बिक्रम सम्बत २०७५ भन्दा अघिका सबै घर बहाल कर मिनाहा गर्ने भएको छ। २०७५ साल पछिको घर बहाल करमा पनि छुटको व्यवस्था गरेको उपमहानगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा ५० प्रतिशत, २०७६/०७७ मा ३० प्रतिशत र २०७७/०७८मा ३० प्रतिशत छुटको व्यवस्था गरेको छ।