सुनसरी/ इटहरी रंगशालामा निर्माण सम्पन्न भएको सय बेड क्षमताको आईशोलेशन भोली असोज ५ गते देखि सञ्चालन हुने भएको छ। कोभिड रोकथाम तथा नियन्त्रण मुल समितिका संयोजक नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले यस्तो निर्णय गरेको हो।

प्रदेश सांसदहरु सर्वध्वज साँवा र लिलम बस्नेत तथा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, सहयोगि कार्यालय संघ सँस्थाका प्रतिनिधिसहित बैठक बसेको हो। बैठकमा प्रदेश साँसदहरु सर्वध्वज साँवा र लिलम बस्नेतले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.मनिश शर्मा र इटहरी उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामचरण चौधरीलाई आइसोलेसनको चावी र पिपिइ हस्तान्तरण गर्नुभयो। meeting

इटहरी उपमहानगरको कार्यपालिका बैठकले आइसोलेसन सञ्चालनको जिम्मेवारी पनि भूपेन्द्र बराल संयोजकत्वको कोभिड रोकथाम तथा नियन्त्रण तथा ब्यवस्थापन उपसमितिलाई दिईसकेको छ।

उपसमिति संयोजक भूपेन्द्र बरालले इटहरी रंगशालामा १६ वटा शौचालय,४ वटा बाथरुम, २ वटा लुगाधुने ठाँउसहितको आइसोलेसन निर्माण गरिएको बताउनुभयो। लक्षण नदेखिएका कोभिड संक्रमित राखिने आइसोलेसनमा वाइफाई र सिसिटिभी जडान गरिएको छ। खानेपानी र बिद्युतको उचित प्रवन्ध गरिएको छ। त्यहाँ ८ जना स्वास्थ्यकर्मी र ३ जना सफाइकर्मी खटिने छन्। सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ। two

आइसोलेसनमा शारीरिक ब्यायाम, योगा, काउन्सिलिङको ब्यवस्था गरिने छ। आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २०लाख रकम सहयोग गरेको छ भने बिद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी, इटहरी खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था, उद्योग बाणिज्य संघलगायत बिभिन्न संघ सँस्था तथा ब्यक्तिको सहयोगमा उपमहानगरले आइसोलेसन निर्माण र सञ्चालन गर्न लागेको हो।

सञ्चालनका लागि ठूलो खर्च लाग्ने भएकाले सहयोगका लागि उपसमितिले आग्रह समेत गरेको छ।