इटहरी/ बिराटनगरस्थित एभरेष्ट स्कुलको सहकार्यमा सञ्चालित इटहरी ४ स्थित ‘पाथीभरा सेकेन्डरी बोर्डिङ स्कुल’का प्रिन्सिपल गोपाल श्रेष्ठले अनलाईन पद्दतीबाट जारी अध्ययन अध्यापन निकै प्रभावकारी हुँदै गरेको बताउनुभएको छ। शुक्रबार स्कुलमा भएको पत्रकार भेटघाटमा श्रेष्ठले यस्तो भन्नुभएको हो।

उहाँले स्कुलले आफ्नै एप बनाएर बिद्यार्थीलाई पठनपाठन गर्दै आएको जनाउँदै गत बैशाख २५ गतेदेखि नै अनलाईन मार्फत पठनपाठन गरिदै आएपनि भाद्र महिना देखि आफ्नै एपबाट नर्सरी देखि १० कक्षासम्मका बिद्यार्थीलाई निरन्तररुपमा पढाउँदै आएको बताउनुभयो।

उहाँले आँफुहरुले लकडाउन भएपछि जव बिद्यालय खुल्दैन भनेर थाहा पाए लगत्तै देखि बिद्यार्थीलाई निरन्तर पढाईरहेको बताउनुभयो। उहाँले अनलाईन कक्षामा नर्सरीदेखि कक्षा ५ सम्म सन्तोषजनक सहभागिता रहेपनि ५कक्षादेखि माथीका कक्षामा बिद्यार्थीको सहभागिता ८० प्रतिशत सम्म रहेको बताउनुभयो।

इटहरीका अरु बिद्यालयले केही समय अनलाईनमा पढाएपनि त्यसलाई निरन्तरता दिन सकेका छैनन्। आफ्नै बिद्यालयको छुट्टै एप बनाएर निरन्तर पढाउने पाथीभरा इटहरीको एकमात्र विद्यालय हो। प्याब्सन र एन प्याब्सनले असारमा गरेको बन्दमा केहिदिन पढाइ रोकिएपनि त्यसपछि निरन्तर पठनपाठन भइरहेको श्रेष्ठको भनाई छ।

प्रिन्सिपल श्रेष्ठले पठनपाठनसँगै अन्य बिविध बिषय पनि एपमा समेटिएको भन्दै पाथीभरा स्कुलको एप अरु भन्दा फरक रहेको र आँफुहरुले यो एपबाट एकै ठाउँमा बसेर सबै कक्षाकोठा र बिद्यार्थीको निगरानी गर्ने गरेको र एपबाट अनलाईन परिक्षा, अनलाईन कक्षा सञ्चालन हुने गरेको बताउनुभयो।