सुनसरी/ प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति सुनसरीको नगरतरीय भेलाले शिशिर भट्टराईको संयोजकत्वमा ७ सदस्यिय प्रेस संगठन नेपाल रामधुनी नगरकमिटि चयन गरेको छ। संगठनको असोज १ गते भएको भेलाले यस्तो निर्णय गरेको हो।

कमिटिको सहसंयोजकमा मान्यता साह चयन हुनुभएको छ। सदस्यहरुमा तुलसी खड्का, प्रकृति रौनियार, सुरज सदा, अमन ढुंगेल र अन्जना चौधरी चयन हुनुभएको छ।

कार्यक्रममा नेकपा सुनसरी संगठन बिभाग प्रमुख नन्दकुमार बस्नेतले नवनिर्वाचित कमिटिलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो। कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले जस्तो सुकै प्रतिकुल परिस्थितीमा पनि पत्रकारिता स्वच्छ, सन्तुलित र मर्यादित हुनुपर्ने बताउनुभयो।

संगठनका प्रदेश १ संयोजक तथा नेकपा सुनसरी प्रचारप्रसार इञ्चार्ज राजन केडीले कोभिड १९ को महामारी वा यस्तै कुनैपनि बहानामा सञ्चार उद्योगी, पत्रकार वा पत्रकार सम्बद्ध संगठन कसैले पनि पत्रकार र पत्रकारिताको मर्यादालाई गिजोल्न नहुने बताउनुभयो। यस्तो कसैले गरिरहेको भए पत्रकारिताको हैसियत र स्तर कायम राख्न प्रेस संगठन नेपाल कटिवद्ध रहेको बताउनुभयो।

नेकपा सुनसरी प्रचारप्रसार सहइञ्चार्ज योग्यराज खड्का, रामधुनी नगर इन्चार्ज श्यामनारायण राजधामीलगायतले नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। पार्टीका रामधुनी नगर अध्यक्ष राम कोइराला नेतृत्वको निर्वाचन मण्डलले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेको थियो।

संगठनका सुनसरी संयोजक श्रीशीशा राईको अध्यक्षता र सहसंयोजक शेखर ढकालले सञ्चालन गरेको मार्यक्रममा संगठनको बराहक्षेत्र नगर संयोजक तथा जिल्ला सदस्य अच्युत भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।