धरान/ नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका कार्यालय प्रमुख प्रताप बरालले विद्युत् सम्बन्धी कुनै समस्या अथवा ढिलासुस्ती भए कार्यालयको टेलिफोन वा आफ्नै मोबाइलमा सम्पर्क गर्न आग्रह गरेका छन्। कोरोना भाइरसको विषम परिस्थितिमा ग्राहकलाई कार्यालयमा आउँदा काम छिटो, छरितो रूपमा नभए टेलिफोनबाट जानकारी गराई सहज रूपमा सुविधा दिनका निम्ति सो सेवा सुरु गरेको वितरण केन्द्र प्रमुख बरालले बताए ।

“ग्राहकको कुनै समस्या वा गुनासा कार्यालयमा आई निवेदन दिनुपर्ने व्यवस्थालाई परिवर्तन गरी जतिसक्दो चाँडो सेवा दिनका लागि यस्तो सुविधा दिएका हौँ । वितरण केन्द्रका प्रमुख बरालले भने”, यसले गर्दा ग्राहकलाई निकै सहज हुने साथै समय बचत समेत भएको उनको भनाई छ। यस्तै नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रले ग्राहकलाई विद्युत् महसुलमा पनि छुट दिने भएको छ । कोरोना सङ्कटको बेला आर्थिक अवस्थाबाट चपेटामा परेका आफ्ना ग्राहकलाई दुई भागमा वर्गीकरण गरी छुट दिन लागेको हो।

नेपाल सरकारको निर्णय बमोजिम १५० युनिट सम्म खपत गर्ने ग्राहकलाई २५ प्रतिशत छुट दिइने छ भने सो भन्दा माथि २५० युनिट सम्म खपत गर्ने ग्राहकले १५ प्रतिशत रकम छुट पाउने व्यवस्था गरिएको वितरण केन्द्र धरानका प्रमुख प्रताप बरालले जानकारी दिए । यो नियम चालु आर्थिक वर्षको साउनबाट लागू भएको भने पनि प्राविधिक कारणले असोजबाट लागू हुने प्रमुख बरालको भनाई छ । साउन र भदौको विद्युत् महसुल तिरी सकेका ग्राहकले पनि दुई महिनामा पाउने छुट बापतको रकम फिर्ता पाउने बरालले बताए । साथै अहिलेको विषम परिस्थितिमा कार्यालयले ग्राहकलाई विद्युत् महसुल बुझाउन अनलाइन सिस्टम अघि सारेको छ।

महसुल तिर्न आउँदा कोरोनाको जोखिम रहने, भिडभाड हुने भएकाले ग्राहकले घरमै बसिबसी अनलाइनबाट रकम बुझाउन सक्ने छन् । यो सुविधाबाट १ महिनाको अवधिमा करिब ३० प्रतिशत ग्राहकले अनलाइनबाट रकम तिरेका छन्।

सञ्चारकर्मीसँगको कुराकानीका क्रममा बरालले आफु धरान आएको १ वर्ष पुगेको बताउँदै, धरानमा ३ मेघावाट विद्युत् क्षमता वृद्धि गर्न सफल भएको बताएका छन् । १ वर्ष अघि सम्म कम भोल्टेज आउने, बिग्रिएका उपकरणलाई व्यवस्थित गर्ने, सञ्चालन गर्न सक्ने उपकरण सञ्चालन गरेको समेत बताए । हाल वडा नम्बर १५ को केही भागमा समस्या रहेको बताउँदै बरालले तुरुन्तै सो समस्या पनि हटाउन आफुँ लागि परिरहेको बताए । यस्तै उनले कुनै ग्राहकको घरमा कम भोल्टेज आए तुरुन्त कार्यालयमा टेलिफोन गर्न समेत बताए ।

धरानमा हाल ३३हजार २ सय ५५ घरधुरीले बिद्युत् उपभोग गरिरहेका छन्। केन्द्र प्रमुख बरालले सरकारको “उज्यालो अभियान” लाई साथ दिन तपाई हामी एकजुट भएर लाग्नु पर्ने बताए । जति सक्दो विद्युत्बाट खाना पकाउन, लुगा कपडा धुन लगायत विद्युत्बाट सञ्चालन गर्न सकिने सबै क्षेत्रबाट विद्युत् खपत गरी राज्यको अभियानलाई सार्थकता दिन समेत उनको भनाई छ।