केराबारी/ रसायनीक मल अभावका कारण तड्पिएका मोरङको केराबारीका किसान पोटाउँदै गरेको धान बाँदरले नास गर्न थालेपछि अझ पिडित बनेका छन्। केराबारी गाउँपालिका वडा नम्बर ७ डाँगी यस्तै आहाले डाँगीका किसान पिडित भएका हुन्।

स्थानीय किसानले लगाएको धानबालीका साथै केरा, मेवालगायतका फलफुल कामै नलाग्ने बनाएको भन्दै चिन्तित बनेका छन्। उनिहरुले बाँदरले सास्ती दिएपछि कसरी बाँदर खेद्न सकिन्छ भनेर चिन्तित बनेका छन्।

केराबारी ७ निवासी बासुदेव पौडेलले आँफुले लगाएको धानबाली बाँदरले नष्ट गरेपछि सामाजिक सञ्जालमा बाँदरले माडेको धानबालीको तस्विर राख्दै “कोरोना कहरमा लगाएको बालीको यो हालत, भोकले कोही मर्नु पर्दैन भन्ने हे सरकार, बैज्ञानिक वन व्यवस्थापन भन्दै प्राकृतिक वन ध्वस्त पार्न लगाएर बाँदर बस्तीमा पठाएर कसको स्वार्थ पूरा गरेको, समयमा मल पनि उपलब्ध गराएनौ। अब किसान कहाँ जाने, यो पीडा कसलाई सुनाउनु” भन्दै दुखेसो पोख्नुहुन्छ।

उहाँ जस्तै अर्का एकजना कृषक नाम चाँही नलेखिदिनु है भन्दै भन्नुहुन्छ, “सय वटा भन्दा धेरै आउँछन् आफ्नो बारीमा लगाएको केरा खान नपाएको कति भयो-भयो, अव त केराको पातमा पिङ खेलेर केराको बोट नै सप्रिन छोडे, केरा त नष्ट गरे-गरे चैत्र बैशाखमा तरकारी हुन्छ भनेर ५/७ झ्याङ सजिवन रोपेको सजिवनका हाँगामा बाँदर पिङ खेलेर केहि राखेनन्, बाँदरले त मासेर छोडे”

केराबारी ७मा उहाँहरु जस्ता धेरै किसानको अहिले बाँदरले ‘निदहराम’ गरिदिएको छ। हुलका हुल आउने बाँदरहरुले महिला एवं बृद्वबृद्वाहरुलाई हेपेर घरघरैबाट अन्नहरु लाने थालेका छन्।

स्थानीय झलु गिरी भन्नुहुन्छ,“यहाँ त बाँदरले मान्छे कुट्न थाले, हिजो अस्ति दुईजनालाई बाँदरले घेरेछन् छिमेकीहरु गएर होहल्ला गरेपछि बाँदरको जमात भाग्यो रे”

बाँदर आतंक बढेपछि अहिले स्थानीय यूवा जगत पुलामी मगर, डेभिट घिमिरे लगायत मिलेर बाँदर धमाउन धनकुटाका कृषकले निर्माण गरेको प्रविधि सिकेर बाँदर धमाउने मेसिन निर्माण गरेका छन्। उनिहरुले मेसिनको परिक्षण सफल भएको जानकारी गराउँदै अव आँफुहरु बाँदर खेद्न लागिपर्ने बताउँछन्।

यसैबीच केराबारी गाउँपालिका वडा नम्बर ७का वडाध्यक्ष नारायण कुमार चेम्जोङले कृषकहरुलाई दुख दिने बाँदर खेद्न स्थानीय यूवाले बनाएको प्रविधिलाई सहयोग गर्दै बाँदरको आतंक हटाउँन वडाले सक्दो सहयोग गर्ने प्रतिबद्वता ब्यक्त गर्नुभएको छ।