काठमाण्डौ/ महानगरीय अपराध महाशाखाले “अन्तिम बिकल्प प्रा.लि”का सञ्चालक सुवास सुब्बालाई पक्राउ गरेको छ। महाशाखाले लिम्बुलाई सोमबार पक्राउ गरेको हो।

५१ बर्षीय लिम्बुले युट्युव च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको छ। कोरोना संक्रमितको मृत्युपश्चात आफन्तलाई भेट्न नदिई शरिरका बिभिन्न अंगहरु (किड्नी ,आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले माङमुङ्ग्री लिएर सडकमा आन्दोलन गर्न सबै आउनुपर्दछ भन्ने जस्ता समाजमा उत्तेजना फैलाउने, आमसर्वसाधारणलाई दिगभ्रमित गराउने,कोरोना भाईरस संक्रमणबारे भ्रम फैलाएको तथा बिभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई प्रचार प्रसार गरी सार्बजनिक शान्ती भंग गरेको आरोपमा पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

लिम्बुले आफुलाई प्राकृतिक डाक्टर भन्ने गरेको र उनि तेहथुम जिल्ला स्थायी घर भई हाल ललितपुर नक्खिपोटमा बसोबास गर्ने लिम्बुलाई सोमबार ललितपुर स्थित नक्खिपोटबाट पक्राउ गरी प्रहरी परिसर ललितपुर पठाईएको साथै अन्य थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यसैबीच अपराध अनुसन्धान महाशाखाका एसएसपी दिपक थापाले पूर्वी खबरसँगको कुराकानीका क्रममा हालसम्मको अनुसन्धानमा लिम्बुले आँफुलाई डा. भनेपनि डाक्टर नरहेको देखिएको अनि उसँग पुगेका मानिसहरुलाई ३५ हजार सम्मको औषधी भन्दै भिडाएको देखिएको बताउनुभयो।

एसएसपी थापाले लिम्बुले अफबाह फैलाएकोले मुलुकी संहिताको दफा ७० अनुसार कारबाही हुने बताउनुभयो। दफा ७०मा भ्रमपूर्ण अभिब्यक्तिका कारण सर्वसाधारण त्रसित बनाएकोले ३ बर्ष देखि ५ बर्षसम्म कैदको ब्यवस्था रहेको बताउनुभयो।