काठमाण्डौ/ संघीय राजधानी काठमाण्डौको सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ। यसअघि प्रति बिरामी १ सय रुपैया ओपिडी शुल्क लिदै आएको अस्पतालले बिहिबारबाट लागु हुनेगरी ओपीडी निःशुल्क गरेको हो।

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले नेपालकै उत्कृष्ट मानिने काठमाडौं मेडिकल कलेजको अध्यक्षको जिम्मेवारी सोमबारबाट सम्हाल्नुभएको छ। डा.शर्माको प्रवेश लगत्तै अस्पतालले बहिरंग सेवा वापतको स्वास्थ्य परिक्षण शूल्क हटाउने निर्णय लिएको हो। बिरामीहरुलाई उपचारमा सहुलियत प्रदान गर्न ओपीडी निःशुल्क गरिएको अस्पताल अध्यक्ष डा.शर्माले जानकारी दिनुभयो।

काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट कलेजको अस्पताल सेवा सञ्चालन भईरहेकाले दुबैमा ओपीडी निःशुल्क हुनेछ। सशुल्क उपचार सेवाको दररेट भने पुरानै कायम छ। सामान्य अवस्थामा सो अस्पतालमा उपचारका लागि दैनिक करिब १ हजार २ सय बिरामी पुग्ने गरेका छन्। कोरोनाका कारण अहिले भने दैनिक करिब २ सय बिरामीको उपचार हुँदै आएको अस्पतालले जनाएको छ।