काठमाडौँ / भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन्। उनले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका हुन्।

पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नुभन्दा पहिले गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो। 

यसअघि अगस्ट १० मा मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको आफूलाई कोरोना पुष्टि भएको बताएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड-१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका थिए । पूर्वराष्ट्रपति मुखर्जीले आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न र कोभिड-१९ को परीक्षण गराउन समेत आग्रह गरेका थिए । भारतमा कोरोना संक्रमण तीव्र भएपछि मुखर्जीले भेटघाटलाई कम गरेका थिए । उनलाई अगस्ट १० मै दिल्लीस्थित आरआर अस्पताल भर्ना गरिएको थियो। pusti

झन्डै ५ दशक भारतीय कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका मुखर्जी सात पटक सांसदमा निर्वाचित भएका थिए। राजनीतिमा आउनुअघि उनले शिक्षण र पत्रकारिता पेसा अँगालेका थिए। उनी सन् १९६९ मा राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि लगातार उनी चारपटक राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००४ मा भने पश्चिम बंगालको जांगीपुर क्षेत्रबाट उनी लोकसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००९ मा त्यसै क्षेत्रबाट उनी पुन: निर्वाचित भएका थिए।

उनी सन् १९७२ मा इन्दिरा गान्धी नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । उनले अर्थ, वाणिज्य, विदेश तथा रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए।