इटहरी/ सुनसरीका तीन ठाउँमा तीन सय जना क्षमताको आइसोलेसन वार्ड बन्ने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा आईसोलेशन वार्ड बन्ने भएको हो।

इटहरीको क्षेत्रीय रङ्गशाला, दुहबीको अरुण बनस्पति उद्योग र रमपम चाउचाउको उद्योग अगाडीको एक गोदाम घरमा करिब तीन सय जना हट्ने क्षमताको आइसोलेसन वार्ड बनाउने निर्णय भएको छ।

इटहरीस्थित क्षेत्रीय रङ्गशालामा सय बेड, अरुण बनस्पति उद्योगमा ५० र रमपम उघोग अगाडीको खाली गोदाममा १५० जना अट्ने क्षमताको आइसोलेसन वार्ड बनाउने निर्णय भएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो। बिहीबार प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलको नेतृत्वमा तीन ठाउँको अनुगमन समेत गरिएको छ।

जसमा छुटाछुटै शौचालय, बाथरुम र सुत्नको लागी बेडको व्यवस्थापन गरिने छ। आइसोलेसन वार्ड निर्माणका लागी स्थानीय तहले आर्थिक सहयोग गर्ने जनाइएको छ।

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्ने अवस्था आएपछि अस्पतालमा संक्रमितलाई राख्न ठाउँ अभाव देखिन थालेपछि बिकल्पको रुपमा आइसोलेसन वार्ड बनाउन लागिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले बताउनुभयो। यी तीन ठाउँको आइसोलेसन वार्ड चाँडो भन्दा चाँडो तयार गरिने पोख्रेलको भनाई छ।