तस्विर:गुगलबाट

सुनसरी/ सुनसरीको इटहरीस्थित शौरभ कन्ट्रक्सनका प्रमुख सर्बेश आचार्यले आँफुले गरेको सडक मर्मतको कामको रकम बिभिन्न बहाना बनाएर अड्काएर दुःख दिईएको बताएका छन्। प्रमुख आचार्यले कहिले सडक कार्यालय त कहिले साह निर्माण सेवाका नाममा आँफुले दुःख खेपिरहेको बताएका छन्।

आचार्यले सडक डिभिजन कार्यालय बिराटनगरले नयाँ नयाँ शैलीका अपनाएर दुख दिएका कारण आँफु जस्ता नयाँ र साना निर्माण ब्यबसायीको उठीबास भईरहेको दुखेसो पोखेका छन्। उनले सौरभ कन्स्ट्रक्शनको अन्तिम भुक्तानी रकम हडप्नको लागी आँफुलाई डर धम्की देखाई कन्स्ट्रक्शनको नाममा रहेको राष्ट्रिय बाणिज्य बैँकको खाली चेक सडक डिभिजन कार्यालय बिराटनगरले लिएर राखेको आरोप लगाउँदै आँफु त्यहाँबाट फुत्केर आएर बैंकको इटहरी शाखामा गएर त्यो चेक रद्द गरेको बताएका छन्।

आचार्यले नियम अनुसार अन्तिम भुक्तानी रकम सिधै सौरभ कन्स्ट्रक्शनको खातामा जम्मा हुनुपर्ने भएपनि सडक डिभिजन कार्यालय बिराटनगरले त्यसो नगरी कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक बनाएर २०७७ असार २६ गते ल्याई कार्यालयमा राखेर श्रावण १ं०गते सम्म बार्गेलिङ गरी राखेको दावी गरेका छन्।

सडकले चेक अड्काएको बिषयको समाचार बिभिन्न अनलाईन न्युज पोर्टलहरुमा आएपछि हतार हतार श्रावण ११ गते सौरभ कन्ट्रक्शनको खातामा हालिदिएको तर तुरुन्तै बैंकमा निबेदन दिन लगाएर खाता रोक्का गर्न लगाईएको र त्यो खाली चेकमा सम्बन्धित कार्यालयका कर्मचारी अथवा आफÞन्तको नाम भरेमा फस्ने डरले खाली चेकमा सडक डिभिजन बिराटनगरसँग राम्रै ‘चिनजान’ भएका ठेकेदार साह निर्माण सेवा इनरुवाका जय प्रकाश साहको नाम लेखी बैंकमा पठाएको आचर्यले बताएका छन्।

आर्चायले आँफुले पहिला नै सो चेक रद्द गरेकोले साहले रकम निकाल्न नपाएको अनि ठेकेदार साह, सडक डिभिजन कार्यालय बिराटनगरका प्रमुख पशुपति ज्ञवाली र प्रशासन फाँटका शान्ति बहादुर अधिकारी, राष्ट्रिय बाणिज्य बैंक इनरुवाका प्रमुख पेशल कुमार ढुङ्गाना, जिल्ला प्रहरी कार्यालय इनरुवाका प्रहरी निरीक्षक सरोज खनालसमेतले मिलेमतो गरी पैसा अडकाएर आँफुलाई दुःख दिएर अर्को खाली चेक लिन खोजेको आरोप लगाएका छन्।

आचार्यले पहिला राष्ट्रिय बाणिज्य बैंक इनरुवाका प्रमुख ढुङ्गानाले नियम बिपरीत खाता रोक्का गरेको र पछि त्यसैलाई कानुनी रुप दिन भनि जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनालले खाता रोक्का गर्न भनि अगाडिको मिति राखेर बैंकमा पत्र दिएर कन्स्ट्रक्शनलाई घेराबन्दीमा पारेर भुक्तानी रकम नदिनका लागि अड्को थापेर दुःख दिईरहेको दाबी गरेका छन्।

यसैबीच सडक डिभिजन कार्यालयले यो बिषय आँफुसँग सम्बन्धित नरहेको दुई ठेकेदारका बीचको समस्या भएको बताएको छ भने राबा बैँक इनरुवाका प्रमुख ढुंगानाले निबेदन अनुसारको काम आँफुले गरेको दाबी गरेका छन्। यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीले भने यो बिषयमा बुझ्ने काम भईरहेको बताएको छ।