इटहरी / केही बर्ष अघिसम्म गाईजात्रा भनेपछि देशभर रौनक छाउथ्यो । खासगरी हास्यव्यंग्यका पाठकका लागि कामनालगायतका केही पत्रिकाह मनोरञ्जनको साधन हुन्थे। यस्तै काठमाडौँमा हुने नाट्य तथा अभिनय प्रदर्शनीमा मानिसको ताँती लाग्थ्यो। यस्तै टेलिभिजनबाट सीमित मात्रामा गाईजात्राका प्रस्तुतीहरुबाट मनोरञ्जन लिन्थे।

पछिल्लो समय युट्युबको आगमनसँगै र टेलिभिजनहरुमा हास्यव्यंग्य टेलिफिल्महरुको प्रस्तुतसँगै हास्यव्यंग्यको क्षेत्र फराकिलो भयो तर गाईजात्राको आफ्नै रौनक भने खुम्चियो। तथापि गाईजात्राको अवसरमा हास्यव्यंग्यले निरन्तरता पाइरह्यो।

प्रत्यक्ष हास्यव्यंग्यल कार्यक्रम पनि इन्टरनेट केन्द्रित हुन थालेको समयमा यो वर्ष अझ कोरोनाको कारण प्रत्यक्ष कार्यक्रम ठप्प भयो। यस्तो अवस्थामा पनि हास्यव्यंग्य र गाईजात्रा भने मर्न पाएन।

कलाकारहरुले यस वर्षको प्रस्तुतिलाई कोभिड १९ को त्रास र पिडाबिच आशा र हौसलाको कोसेली २०७७ सालको गाईजात्रा नाम दिएर युट्युब तथा टेलिभिजनबाट गाईजात्रालाई प्रस्तुत गरेका छन्।

एपी वान टेलिभिजन र युट्युबमा साउन १५ गतेदेखि शुरु भएको गाईजात्रा ७ दिनसम्म चलेको गाईजात्राका बिभिन्न एपिसोडहरुलाई युट्युबमा लाखौँ मानिसले हेरेका छन्। कलाकार मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, सुरेन्द्र केसी, धुर्मुस सुन्तली, राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, सुमन कार्की, शिव शंकर रिजाल, रवि डङ्गोल, यमन श्रेष्ठ, चट्याङ मास्टर, लक्ष्मण लगायतका कलाकारहरूले समसामयिक बिषयमा प्रस्तुति दिएका थिए ।

कमेडी च्याम्पियनका नयाँ कलाकारहरूसँगै गायक पशुपति शर्मा, गायिका बबिता बानियाँको पनि प्रस्तुति रह्यो। हरेक वर्ष भिन्नाभिन्नै रूपमा देखिँदै आएका मनोज गजुरेलले यस वर्षको गाईजात्रामा बिश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसस, नेकपाका दुई पाइलट अर्थात अध्यक्षमध्ये एक पुष्पकमल दाहाल, डोनाल्ड ट्रम्प, भारतीय समाचार प्रस्तोता अर्नव गोस्वामीलगायतको अवतारमा देखिएका थिए। दर्शकहरूले सबै प्रस्तुति उत्तिकै मन पराएका छन।

बिश्व त्रास र पिडाबीच जुधिरहेको समयमा नेपालमा जोखिम मोलेरै पनि गाईजात्रा कार्यक्रम निर्माण गरिएको आयोजक ब्रान्ड वर्थ प्रालिका अध्यक्ष मोहन गजुरेलले जानकारी दिनुभयो। ब्रान्ड वर्थले गत बर्ष प्रदेश प्रदेशमा गाईजात्रा गराएको थियो। प्रमुख गजुरेलले यसपटकको कोरोना कहरका कारण गाईजात्रालाई मर्न नदिन परिवर्तित समयको सदुपयोग गर्दै गजुरियल डट कम युटुव च्यानल र एपी वान टेलिभिजनबाट दर्शक सम्म नयाँपनका साथ गाईजात्रालाई निरन्तरता दिएको बताउनुभयो।