इटहरी/ करिब दुईबर्ष अघि इटहरी ६मा सञ्जय चौधरीले सञ्चालन गर्ने सञ्जय ग्याँस सप्लायर्स एण्ड भाडा पसलमा एउटा चोरी भयो। पसल अगाडीबाटै ग्याँस सिलिन्डर चोरी गरेको आरोपमा चौधरीले एकजना छिमेकीलाई रंगेहात नियन्त्रणमा लिए।

लगतै चौधरीले इलाका प्रहरी कार्यालय इटहरीमा छिमेकीका बिरुद्व चोरीको जाहेरी दिए। अन्य छिमेकीले छिमेकी हो एकपटकलाई माफि गरिदिन आग्रह गरेपछि चौधरीले मुद्दा फिर्ता लिए अनि प्रहरीले मिलापत्र गराएर छाडिदियो।

तर त्यो घटनामा आफ्नो दाइलाई समाजको अगाडी बेइज्जत गरेको भन्दै उनैका भाई प्रशान्त भनिने सन्तोष खड्काको मनमा भने प्रतिशोधको भावना पलाईसकेको थियो। २८बर्षीय खड्का समय समयमा साथीहरुसँग चौधरीसँग बदला लिने कुरा पनि गर्दथे। त्यही बदला लिने योजनाको साथ असार २९गते उनले चौधरीको घरको तल्लो तलामा रहेको ग्याँस भण्डारण गर्ने गोदाममा आगो लगाउने प्लान बनाए। IMG_8559

राती ११ बजे सन्तोषले रिक्साको टायर सल्काएर बन्द गोदामको सटर भित्र छिराई दिए संयोगबश टायरमा आगो सल्किएपनि गोदाममा सल्कन पाएन। तर नजिकैको अर्को घरमा बस्ने एकजना महिलाले यो दृश्य देखिन र होहल्ला गरिन। रातको समयमा हल्ला हुनासाथ खड्का फरार हुन्छन् तर उनले सटरमा आगो लगाउन आएको देखि फरार हुन्जेलसम्मको दृश्य भने सिसिटिभीमा रेकर्ड भईसकेको हुन्छ।

हेर्नुहोस आगजनी गर्दै गरेको भिडियो :

टर्‍यो निकै ठुलै दुर्घटना
खड्कााले आगो लगाउन खोजेको सो ग्याँस भण्डारमा करिब पाँचसय वटा भन्दा बढि ग्याँसका सिलिन्डर थिए। जसमा दुई सयवटा भन्दा बढि सिलिन्डर भने भरिएका थिए। आगजनी भएको गोदाम घरको भुईतलामा चौधरीले ग्याँस भण्डार र भाडा पसल सञ्चालन गरेका छन् भने माथिल्लो तलामा भने चौधरीको परिवार र उनका दाजुभाई कै परिवार बस्ने गर्दछन्। IMG_8554

त्यही घरमा अन्य घर समेत सटिएको(जोडिएको) कारण यदि ग्याँस भण्डारमा आगो लागेको भए ठुलो क्षति हुने सम्भावना थियो। आगोले ग्याँस सिलिन्डर बिस्फोट भएको भएको भए आफ्नोसहित अन्य घरमा समेत ठुलो क्षति पुग्ने सञ्जय चौधरीको भनाई छ। ‘रातको समयमा यस्तो प्रयास भयो’ चौधरीले भने ‘सिलिन्डर पड्किएको भए मानिसको समेत हताहती हुन्थ्यो, संयोगले ठुलै दुर्घटना टर्‍यो।’ चौधरीको पसल सँगै उनका दाजुको अनि भाईको पसलको पनि ग्याँस भण्डार छ।

ज्यान मार्ने अभियोग
घटना भएको २९ असारको रातीबाटै खड्का फरार थिए। उनलाई इटहरी ९का एक साथीको घरमा लुकेको अवस्था इटहरी प्रहरीले १७ दिनपछि पक्राउ गरेको छ। पक्राउ पछि खड्काले प्रहरीलाई दिएको बयानमा पनि दाजुलाई चोरीको आरोप लगाई बेइज्जत गरेको रिसमा ग्याँस भण्डारमा आगो लगाउने योजना बनाएको बताएका छन्।

आगो लगाउने दिन खड्काले मदिरा सेवन गरेको समेत प्रहरी अनुसन्धानले देखाएको छ। इटहरी प्रहरीले खड्कालाई आगो लगाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ।