सुनसरी/ सडक डिभिजन कार्यालय बिराटनगरले सौरभ कन्ट्रक्सन इटहरीको नाममा निकासा गर्नुपर्ने रकम नियतबस नदिएको सम्बन्धित कम्पनीले बताएको छ। कार्यालयले कोशी राजमार्ग अन्तरगत धरान भेडेटार सडक खण्डमा सर्फेस ड्रेसिङ एबि एस टि गर्ने कामको रकम नियतबश नदिएको हो।

सडक डिभिजन कार्यालय बिराटनगरले लगाएको ठेक्काबाट सौरभ कन्ट्रक्सन इटहरीले कोशी राजमार्ग अन्तरगत धरान भेडेटार सडक खण्डमा सर्फेस ड्रेसिङ एबि एस टि गर्ने काम गरेको थियो।

सर्फेस ड्रेसिङ एबि एस टि गर्ने कामको अन्तिम भुक्तानी रकम कन्ट्रक्सनको नाममा रहेको बैँकको खातामा सिधै जम्मा गरिदिनुपर्नेमा रकम जम्मा नगरिकन कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक बनाएर ल्याई बादबिबाद श्रृजना गरेर नियतबश सडक डिभिजन कार्यालयले रोकिदिएको सौरभ कन्ट्रक्सनले बताएको छ।

कन्ट्रक्सनले काम सम्पन्न गरेर फाईनल भुक्तानीको लागि ३० लाख १४ हजार १सय ४५ रुपैँयाको बिल पेश गरेकोमा सडक कार्यालयले टिडिएस र भ्याट समेत कट्टा गरेर २६ लाख ६४ हजार ७ सय १९ रुपैँया कोष तथा लेखा नियन्त्रण कार्यालयबाट कन्ट्रक्सनका नाममा गत असार २६ गते कृषि बिकास बैँकको एकाउन्ट पे चेक दिनुपर्नेमा नदिई सो चेक सडक कार्यालय बिराटनगरका प्रमुखले बाध्यतामा पारेर कन्ट्रक्सनको छाप लगाउन लाएर साह निर्माण सेवा इनरुवाका प्रमुख जयप्रकाश साहका नाममा चेक दिएको सौरब कन्ट्रक्सनले दावी गरेको छ।

यता रकम निकासा रोक्का गरिदिएको बिषय सडक डिभिजन कार्यालय बिराटनगरका प्रमुख पशुपति ज्ञवालीलाई सोध्दा उहाँले आँफुले कसैको रकम पूर्वाग्रह राखेर नरोकेको बताउनुभयो। ज्ञवालीले धेरैवटा कम्पनीहरुको रकम निकासा गर्न बाँकी रहेको बताउनुभयो। प्रमुख ज्ञवालीले सौरब कन्ट्रक्सनको भुक्तानीको बिषय आँफुसँग सम्बन्धित नरहेको भन्दै सौरव कन्ट्रक्सन र साह निर्माण सेवा मिलेर आएर निकासा गर्न सकिने बताउनुभयो।