शिव भट्टराई-सुन्दरहरैँचा/ सुन्दरहरैंचा ६ का ८० बिपन्न परिवारलाई राहत स्थानीय एक ब्यक्तिले राहत प्रदान गर्नुभएको छ। सुन्दरहरैँचा ६ खर्साङ्गेनी चोक घर भएर हङ्गकङ्गमा बस्दै आउनुभएका भोलानाथ थापा मगरले खाद्यान्न प्रदान गर्नुभएको हो।

बैदेशिक रोजगारीको शिलशिलामा हङ्गकङ्गमा रहनुभएका मगरले आफ्ना स्वर्गीय माता पिताको नाममा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ६ का ८० बिपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएर बिहान बेलुकाको छाक टार्न नै समस्या भएका उनिहरुलाई मगरले खाद्यान्न सहयोग गर्नुभएको हो।

कार्यक्रममा खाद्यान्न बितरण कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धना तामाङले बिश्वका जुनसुकै कुनामा पुगेपनि नेपाल र नेपालीप्रतिको माया र सहयोग गर्ने नेपालीको बानि रहेको भन्दै सहयोगी थापामगरलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा बिशिष्ट अतिथी रहेका वडा नम्बर ६ का वडाध्यक्ष जीवन राईले नेपाली समाजमा कोरोनाले पैदा गरेको आर्थिक, सामाजिक र मनोबैज्ञानिक संकटको बेला हङ्गकङ्गमा रहेर पनि बिपन्न समुदायलाई राहत उपलब्ध गराएकोमा दाता थापामगरलाई धन्यवाद दिनुभयो ।

राहत बितरणको संयोजन गर्ने हङ्गकङ्ग मगर संघका संस्थापक अध्यक्ष साथै हङ्गकङ्ग फेडेरेसन महासंघका संस्थापक उपाध्यक्ष भोलानाथ थापा मगरले स्वर्गीय माता पिताको नाममा कोरोनाको रोगबाट भन्दा पनि बाध्यात्मक लकडाउनका कारण खाद्यान्न अभावले भोकबाट कोहि पनि नमरुन भन्ने उद्देश्यबाट प्रेरित भई स्थानीय सरकारसँग सहकार्य गरी बिपन्न घर परिवारलाई राहत उपलब्ध गराइएको जानकारी दिनुभयो।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नम्बर ६ का वडा सदस्यहरु प्रमिला लकान्द्री, डम्बर थापा, उर्मिला रिजाललगायतले राहत बितरणमा सहजीकरण गर्नभयो।

लकडाउनका कारण समस्यामा रहेको अवस्थामा राहत पाएपछि राहत लिन पुगेकाहरु समेत हर्षित भएका थिए। उनीहरुले घरमा भरे के खाने ? भोलि के खाने भन्ने अवस्था रहेका बेला राहत दिएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए।