काठमाण्डौ/ चितवन राष्ट्रिय निकुन्जले माडी नगरपालिका ९ कुसुमखोलामा बसोबास गर्ने चेपाङहरुको घरमा आगजनी गर्नुका साथै हात्ती लगाएर भत्काएको प्रति जनता समाजवादी पार्टीका बिभिन्न समितिहरुले बिरोध गरेका छन्। जसपाका बिभिन्न समितिहरुले बिज्ञप्ती जारी गर्दै बिरोध गरेका हुन्।

बिज्ञप्तीमा २०बर्षदेखि सोही गाउँमा बसोबास गर्दै आएका चेपाडहरुलाई स्थानान्तरणको कुनै बिकल्प बिना साउन ४ गते उनीहरुको परिचय पत्र, आवश्यक कागजात, दुःख गरेर कमाएको पैसा र खाद्यान्न समेत निकाल्न नदिई, अरुको खेतमा ज्याला गर्न गएको मौका छोपी २ घरमा आगो लगाई जलाएर पूर्णरुपमा नष्ट गरिदिएको र बचेका ८ घरमा हात्ती लगाएर भत्काइदिएको उल्लेख छ।

जारी बिज्ञप्तीमा यो घटनाले साढे दुई दशक अघिदेखि बसोबास गर्दै आएका सुकुम्बासी चेपाङहरूको स्वतन्त्र रुपमा बाच्न पाउने संवैधानिक हकलाई कुल्ची हनन् गर्दै सरकार आफैले संविधानको खिल्ली उडाएको छ भनिएको छ।

बिज्ञप्तीमा कोरोना भाईरसको महामारी लगायत बाढी पहिरोले सम्पूर्ण मानव समुदायलाई संकटमा पारेको बेला सरकारको यस्तो हुर्मतले झिनो मानवीय संवेदना समेत गुमाएको र सरकारले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र अङ्गीकार गरेको मूल्य मान्यता समेत उल्लंघन गरी मानवअधिकारको हनन् गरेको उल्लेख गर्दै यस घटनाको यथासीघ्र छानबिन गरी दोषीहरूलाई तत्काल कडा कार्बाही गरेर पीडित चेपाङहरुलाई ससम्मान उचित आवासको अविलम्ब क्षतिपूर्ति समेत दिन माग गरिएको छ।

हेर्नुहोस बिज्ञप्ती :

jasapa