बिराटनगर/ एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई आक्रमण गर्नेलाई कुनै हालतमा उन्मुक्ति नदिईने बताउनुभएको छ। सोमबार साँझ नोवल मेडिकल कलेजमै गएर अध्यक्ष कार्कीलाई भेट्दै मुख्यमन्त्री राईले यसो भन्नुभएको हो।

हतियार प्रहार गर्नेलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने भन्दै मुख्यमन्त्री राईले अपराधमा संलग्नलाई त्यसै नछाडिने बताउनुभयो। भेटघाटका क्रममा मुख्यमन्त्री राईलाई अध्यक्ष कार्कीले घटनाका बिषयमा जानकारी गराउनुभएको दुहवी जेसिजकी अध्यक्ष समेत रहनुभएकी अध्यक्ष कार्कीकी श्रीमती बिमला सुवेदी कार्कीले पूर्वी खबरलाई जानकारी दिनुभयो।

मुख्यमन्त्री राईसँगै बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली लगायतले पनि भेट्नुभएको थियो। अध्यक्ष कार्कीलाई केहिदिन आईसियूमा राखेर उपचार गरिसकेपछि हाल वार्डमा सारिएको सुवदीले बताउनुभयो।

अध्यक्ष कार्कीलाई श्रावण २ गते शुक्रबार पौने १२ बजेतिर केराबारी १० का भाले भनिने भवन ठकुरीले चक्कु प्रहार गरेका थिए।

यो पनि पढ्नुहोस : केराबारी गाउँपालिका अध्यक्ष कार्कीमाथी चक्कु प्रहार