केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै चक्कु प्रहार भएको छ। गाउँपालिका अध्यक्ष कार्की माथी शुक्रबार पौने १२ बजेतिर चक्कु प्रहार भएको हो।

अध्यक्ष कार्की गाउँपालिका कार्यालय प्रवेश गर्दै गर्दा गेटमा रहेका केराबारी १० का भवन ठकुरीले चक्कु प्रहार गरेको केराबारी प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट टाउकोमा चोट लागेका कार्कीको स्थिती असामान्य रहेको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट घाईते भएका कार्कीलाई अस्पताल लगिएको र प्रहार गर्ने ठकुरीलाई केराबारी प्रहरीले नियन्त्रणमा लिईसकेको छ।

टाउकोमा चोट लागेका कार्कीको निकै रगत बहेको प्रहरीले बताएको छ। घटनाको बारेमा थप अनुसन्धान भईहेको प्रहरीले जनाएको छ।

किन प्रहार भयो छुरा ?
अध्यक्ष कार्कीलाई छुरा प्रहार गर्ने ठकुरीले सवारी साधनहरुको पटके करको ठेक्का उठाउने गरेको बुझिएको छ। ठकुरीले केराबारी गाउँपालिकाले आव्हान गरेको टेन्डरबाट पटके करको टेन्डर पारेर राजस्व संकलन गर्दै आएका थिए।

उनको सम्झौता असार ३१ गते सकिएको थियो, सम्झौता सकिएपनि ठकुरीले नयाँ टेन्टर नलागेसम्मको राजस्व आँफैले उठाउन पाउनुपर्ने भन्दै जिद्दि गर्दै आएका थिए। तर गाउँपालिकाले आँफै मान्छे खटाएर राजस्व संकलन गर्न थालेपछि रुष्ट बनेका ठकुरीले अध्यक्ष कार्कीमाथी छुरा प्रहार गरेको प्रहरीले बताएको छ।

अध्यक्ष कार्कीको अहिलेको अवस्था कस्तो छ ?
अहिले अध्यक्ष कार्कीको अवस्था खतरामुक्त रहेको केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति लिम्बु भुजेलले पूर्वी खबरलाई बताउनुभयो। उहाँले अध्यक्ष कार्कीको अवस्था खतरामुक्त रहेको भन्दै आँफुहरु नोबेल अस्पताल बिराटनगरमा रहेको र अध्यक्ष कार्की कार्कीलाई सिटिस्क्यान गर्न लगिएको बताउनुभयो।