इटहरी/ सदा झैँ सोमबार राती साढे १० बजेतिर सञ्जय ग्याँस सप्लायर्सका सञ्जय चौधरी रातीको खाना खाएर सुत्ने तरखर गर्दै थिए। यत्तिकैमा छिमेकीहरुले आगो आगो भनेर कराएको सुन्छन् चौधरीले हत्त न पत्त बाहिर निस्कँदा धुवाँ धुवाँ भएको घर छेउबाट एकजना परिचित ब्यक्ति भाग्दै गरेको देख्छन्।

सबैजनाले हल्ला खल्ला गरेपछि भेला भएका मानिसहरु र स्वयं चौधरीले पानी खन्याएर आगो नियन्त्रणमा लिन्छन्। त्यसपछि उनले भाग्दै गरेको देखेका ब्यक्तिमाथी आशंका बढेपछि घरैमा जोडेको सिसि क्यामेराबाट अघिको दृष्य नियाल्छन्। उनले भाग्दै गरेको देखेका ब्यक्तिले नै रिक्साको ट्युव र टायर सल्काउँदै गरेको अनि ग्याँस गोदाममा आगो झोस्दै गरेको दृष्य हेरेर अवाक हुन्छन्।

IMG_8553
आगजनी पछि भाग्दै

त्यसपछि चौधरीले नजिकै रहेको इलाका प्रहरी कार्यालय इटहरीमा खबर गर्छन। त्यसपछि आएको प्रहरी गोदाम वरपरको बस्तुस्थिती अवलोकन गरेर चौधरीले भाग्दै गरेको देखेका ब्यक्तिको घरमा जान्छ, त्यहाँ पुगेको प्रहरी रित्तो हात फर्कन्छ, ति ब्यक्ति फरार भईसकेको हुन्छ। प्रहरीले रातभर खोजी गरेपनि भेटिदैन त्यो ब्यक्ति।

मंगलबार बिहान प्रहरीले ग्याँस डिलर भएको ठाउँमा आएर मुचुल्का उठाउँछ अनि सिसि क्यामेराको फुटेज पनि संकलन गरेर लान्छ। डिलर सञ्चालक चौधरीले आगजनी गर्ने ब्यक्ति बिरुद्द किटानी जाहेरी दिन्छन्। ति ब्यक्ति अरु कोहि नभएर चौधरीकै छिमेकी हुन्छन्।

उद्योग बाणिज्य संघ इटहरी अध्यक्ष एवं वडाध्यक्षद्वारा निरिक्षण
यसैबीच उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले घटनास्थलको अवलोकन गर्नुभएको छ। अध्यक्ष पौडेलले घटनास्थलको अवलोपछि पूर्वी खबरसँग इटहरी ठुलो दुर्घटना हुनबाट बचेको बताउनुभयो। पौडेलले यदि ग्याँस सल्किएको भए इटहरीमा अकल्पनीय क्षति हुने बताउनुभयो।

IMG_8558
आगजनी गरिएको ग्याँस गोदाम

उहाँले यस्तो ब्यक्तिले पशुवत ब्यबहार प्रदर्शन गरेको भन्दै जंगली प्रवृत्ति देखाएको भन्नुभयो। उहाँले यस्तो गर्ने ब्यक्तिलाई कानुनी दायरमा ल्याउनु पर्ने भन्दै आगजनी गर्ने ब्यक्तिले अक्ष्यम्य गल्ती गरेको बताउनुभयो। आगजनी भएको स्थानको उवा संघ इटहरीका महासचिव पिताम्बर पोख्रेलले पनि अवलोकन गर्नुभयो। उहाँले अवलोकन पछि आगजनी गर्ने ब्यक्ति लाई हदैसम्मको कारबाही हुनुपर्ने बताउनुभयो।

यस्तै इटहरी ६का वडाध्यक्ष दिपक गौतमले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ। उहाँले अवलोकनपछि आगजनी गर्ने ब्यक्तिले अक्ष्यम्य गल्ती गरेको भन्दै बेलैमा देखिएकोले सम्भावित दुर्घटनाबाट बचेको बताउनुभयो। यस्ता मानिसलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै पिडित परिवालाई सान्त्वना दिनुभएको छ।

गोदाममा कति थियो ग्याँस ?
आगजनी भएको संजय चौधरीको गोदाममा प्रिमा ग्याँस र सुबिधा ग्याँस गरेर २८३वटा सिलिण्डर थिए। यस्तै सोहि गोदामसँगै चौधरीका दाजु बिजय र भाई राहुलको गरेर करिव ३००वटा सिलिण्डर थिए।

आगजनी गरेको गोदामको माथिल्लो तलामा बस्छ परिवार
आगजनी भएको घरको माथिल्लो तलामा चौधरीका तीन दाजुभाईको परिवार, बुवा आमा काम गर्ने ब्यक्ति लगायत गरेर १३ जना परिवार बस्ने गरेको छ।

(आगजनी गर्ने ब्यक्ति फरार भएकोले प्रस्तुत समाचारमा हामीले ति ब्यक्तिको नाम गोप्य राखेका हौँ, पक्राउ परेपछि थप समाचारसहित निजको नाम पनि सार्वजनिक गरिने छ -सम्पादक)

हेर्नुहोस आगजनी गर्दै गरेको भिडियो दृष्य :