धरान/ नेपाली कांग्रेसका जिल्ला सचिव एवं सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले सुनसरीको धरानमा परीक्षणकालमा रहेको एशियाली बिकास बैंक(एडिवी)को ऋणमा ल्याइएको करिव ३ अर्बको असफल खानेपानी आयोजना जस्तो छ त्यस्तै जिम्मा लिईहाल्न र खानेपानी व्यवस्थापन बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखालाई गाभिहाल्न नेकपाका जनप्रतिनिधिहरुले ब्ल्याकमेलिङ गरिरहेको आरोप लगाएका छन्।

उनले उपनिर्वाचनवाट नगर प्रमुख निर्वाचित भएका नेपाली कांग्रेसका धरान नगर सभापति तिलक राईलाई नगरको परिषद र कार्यापालिकामा दुईतिहाई भएको आडमा र पछिल्लो समय नगर प्रमुख राईको नाममा बेरुजु भएको भन्दै आयोजना जिम्मा लिन र संस्थानलाई बोर्डमा गाभ्न कार्यपालिका र नगर परिषद बहिष्कार गरेर ब्ल्याकमेलिङ गरेको आरोप लगाएका हुन्। drn khanepani

संयोजक गोलेले दुईतिहाईको दम्भमा नेकपाका जनप्रतिनिधिहरुले आफैले बिज्ञको समिति बनाई आयोजनाको मूल्यांकन तथा प्राविधिक र आर्थिक परीक्षण गर्ने र बिज्ञको प्रतिवेदनको आधारमा आवश्यक निर्णय लिइने भनि कार्यापालिका बैठकमा गरेको निर्णयको समेत प्रवाह नगरी यसरी दवाव र व्ल्याकमेलिङ गर्नुले आयोजनामा ठुलै चलखेल भएको हुनसक्ने आरोप लगाएका छन्।

आयोजना अनुगमन समितिका संयोजक समेत रहेका गोलेले आयोजनाले डिपिआर र सम्झौता बमोजिम कुनैपनि लक्ष्य पूरा गर्न नसकेको बताएका छन्। आयोजनाले सन् २०३१ सम्ममा बृद्धि हुने जनसंख्यालाई ७ मिटरको प्रेसरमा दैनिक न्यूनतम् १६ घण्टा शुद्ध पानी उपलब्ध गराउने भनिएपनि बर्षायाममा समेत सो मापदण्ड र लक्ष्य हासिल भएको नपाइएकाले प्राविधिक र व्यवहारिक रुपमै आयोजना असफल भईसकेको दावी गरेका छन्।

हाल दिन बिराएर पानी बितरण गर्ने गरेको, उपभोक्ताले पानीमोटर जडान गर्नुपरेको, धमिलो र लेदो मिसिएको पानी खान बाध्य भएको तथा कतिपय वडाहरुमा परीक्षण अवधिमै ट्याङकरबाट पानी उपलब्ध गराउनु परेको, डिपिआर बिपरित थप २ वटा वेल निर्वाचन आचारसंहिता उल्लंघन गरी निर्माण गरेको जस्ता ज्वलन्त उदाहरणले पनि आयोजना असफल भएको पुष्टि भएको गोलेको भनाई छ।