बिराटनगर/ झापा र मोरङका बिभिन्न घटनामा चारजनाको ज्यान गएको छ। झापाको कमल गाउँपालिकामा र मोरङको कटहरी गाउँपालिकामा खोलाले बगाएर दुईजनाको र झापाको मेचिनगर र मोरङको कटहरीमा करेन्ट लागेर दुईजनाको ज्यान गएको हो।

झापाको कमल गाउँपालिका ५ का ३५बर्षीय पुष्प राईको खोलाले बगाउँदा मृत्यु भएको हो। शनिवार(हिजो) दिउँसो साढे १ बजे स्थानीय चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका राईलाई खोजी गर्ने क्रममा बगाएको ठाउँ भन्दा करिव १ किलोमिटर तल सोही खोलाको डिलमा मृत फेला परेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यस्तै मोरङको कटहरी गाउँपालिका ७ का प्रधुम्न सरदारको ६ बर्षीया छोरी दिक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको छ। शनिवार दिउँसो ३ बजेको समयमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएकी बालिकालाई खोजी गर्ने क्रममा राती पौने १ बजे बगाएको ठाउँ भन्दा करिव ३ किलोमिटर दक्षिण मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

त्यस्तै झापाको मेचीनगर नगरपालिका १४ का २७ बर्षीय चक्रबहादुर भुजेलको करेन्ट लागेर ज्यान गएको छ। घरमा रहेका वायरिङका तारहरु संकलन गर्ने क्रममा करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागी झापाको बिएण्डसी अस्पताल पठाईएकोमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको धुलाबारी प्रहरीले जनाएको छ।

यसैगरी मोरङको रतुवामाई नगरपालिका ९ का ३२ बर्षीय खेमबहादुर भुजेलको करेन्ट लागेर ज्यान गएको छ। शनिवार अपरान्ह ५बजे घर अगाडी रहेको बिजुलीको पोलमा रहेको वाईफाईको तारलाई बाँसले मिलाउने क्रममा करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागी उर्लाबारीस्थित अरनिको अस्पताल पुयाउने बित्तिकै ज्यान गएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ।

सोही घटनामा घाईते भएकी मृतककी श्रीमती ३० बर्षीया कला भुजेलको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।