बिराटनगर/ प्रदेश नम्बर एकका प्रहरी नायव महानिरिक्षक (डिआईजी) ईश्वरबाबु कार्कीले काजमा बसेका सबै प्रहरीलाई आ–आफ्नो दरबन्दीमा हाजिर हुन निर्देशन दिएपनि केहि प्रहरी ठुलै शक्तिकेन्द्रको सोर्स लगाएर बस्ने गरेको पाईएको छ।

प्रहरी संगठनमा बिभिन्न कारण देखाई तथा सोर्सफोर्सले दरबन्दी अर्को ठाउँ भए पनि पायक पर्ने ठाउँ र आर्थिक चलखेल हुने कार्यालयहरुमा काज मिलाएर बस्ने परम्परा नै बसेको छ। प्रहरीका हरेकजसो कार्यालयमा काज बिकृति छ। त्यसो त राजमार्गमा रहेका प्रहरी कार्यालयमा त १० बर्ष भन्दा माथी देखि एकै ब्यक्ति बसेको भेटिएको छ।

ति प्रहरीहरु कोहि घुमुवा(सादा पोशाक), कोहि मुद्वा फाँट र प्रशासनमा एक दशक भन्दा लामो समयदेखि कार्यरत छन्। झापा, मोरङ, सुनसरीका क बर्गका इलाका प्रहरी कार्यालयहरुमा केहि प्रहरी कर्मचारीहरु लामो समयदेखि कार्यरत छन्। उनिहरु इप्रका धरान, इप्रका बेलबारी, इप्रका बिर्तामोडलगायतका कार्यलयमा छन्।

उनिहरुलाई कसैको निर्देशनले छुँदैन किनभने उनिहरु ‘ठुलै पावर’ लगाएर यत्तिका समयसम्म बसिरहेका छन्। यसरी लामो समयसम्म बसेवापत उनिहरुले माथीका हाकिमहरुलाई ‘राम्रै नजराना’ बुझाउने गरेको प्रहरी श्रोतको दावी छ। यसरी लामो समयसम्म एकैजना ब्यक्ति बस्दा प्रहरीको कार्य सम्पादनमा असर पुग्ने गरेको छ।

१ नम्बर प्रदेश प्रहरीमा करिब १८ सयजना काजमा रहेको तथ्यांक छ। यसरी काज मिलाएर बस्ने प्रहरीहरुमा असई, सई, हवलदार पदका जुनियर अफिसरहरु बढी छन्। यस्तै प्रदेश प्रहरी कार्यालयको कर्मचारी प्रशासन शाखामा पनि एकजना प्रहरी निरिक्षक तीन बर्ष देखि काज मिलाएर बसेका छन्। सामान्यतया सिनियर प्रहरी अधिकृतको दरबन्दि एक बर्षको हुने गरेको छ भने प्रहरी निरीक्षकदेखि तलका दर्जाको दुई–दुई वर्षमा सरुवा हुन्छ।

डिआइजी कार्कीको निर्देशन अनुसार अहिले १४ जिल्लाका जिल्ला प्रहरी कार्यालय मार्फत काज मिलाएर बस्ने सबैलाई रमाना बुझ्न र हाजिर हुन ताकेता गरिएको छ। काजमा बसेका ति प्रहरीहरु आनाकानी गदै आफ्नो दरबन्दी भएका कार्यालयमा हाजिर हुन नगएर ‘हाई पावर’ लगाएर भएपनि काज मिलाउन प्रयासरत छन्। राजनीतिक दलका नेतादेखि नजिकका उच्च प्रहरी अधिकारीहरूलाई काजमै बस्ने व्यवस्था मिलाइदिन प्रहरीहरु सोर्स लगाइरहेको पाइएको छ।

सुनसरीमा मात्र १३९जना
जिल्ला प्रहरी कार्यालय सुनसरीको दरबन्दी ९७८ जनाको भएपनि जिल्लामा १हजार ७८ जना भन्दा बढी प्रहरी कार्यरत छन्। त्यसमा १३९ जना काजमा आएका प्रहरीको संख्या छ। डिआइजी कार्यालयबाट काज बसेकालाई रमाना बुझ्न निर्देशन भएपछि १३९जनालाई उनीहरूको दरबन्दी भएका ठाउँ फिर्ता पठाउन थालिएको छ। शुक्रवारसम्म सुनसरीबाट ५१जनाले रमाना बुझिसकेका छन् भने बाँकी रहेकालाई असार २५ सम्म पठाउने तयारी गरिएको छ।

यस्तै सुनसरी जिल्ला दरबन्दी भएर विभिन्न जिल्लामा काजमा बसेका १२९ जना मध्ये २९ जना सम्बन्धित दरबन्दी भएका कार्यालयमा हाजिर भइसकेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभएको छ।

-अपराध न्युजको सहयोगमा