सुनसरी/ प्रदेश सरकारको सहयोगमा दुहवी ८ मा ग्राभेल भएको सडक एक हप्ता नबित्दै हिलाम्मे भएपछि गुणस्तरीय नभएको स्थानियले गुनासो गरेका छन्। दुहबी ८ मा रहेको सुनसरी मोरङ सिचाइ योजना अन्तरगत पर्ने रामगञ्ज शाखाको उप–शाखा एसएस एघारको खनारदेखि दुहबी ८ सोनापुर समको ३ किलोमिटरको नहरको बाटो गुणस्तरहीन भएको स्थानीयले दाबी गरेका हुन्।

स्थानीय लक्ष्मी ठाकुरले नहरको बाटो ग्राभ्रेल गर्ने सम्बन्धमा सम्बन्धित पक्षले स्थानीयलाई कुनै प्रकारको सार्वजनिक सूचना वा उपभोक्ता गठन प्रकृयाको लागि खबरै नगरिकन ग्राभेल गरेकोले कस्ले ग्राभ्रेल गरेको आफुहरु अचम्ममा परेको बताउनुभएको छ। ठाकुरले सो बाटो कति मिटर सम्मको ग्राभेल हो, कति बेस हो, के मापदण्ड र कती बजेट हो भन्ने योजना पाटी समेत नराखि काम भएकोले ग्राभ्रेल सडक ठाउँ–ठाउँमा हिलाम्मे र बेस नमिलेको हुँदा गुणस्तरहीन भएको दाबी गर्नुभयो।

सुनसरी मोरङ सिचाइ आयोजनाको रामगञ्ज शाखा अन्तरगत पर्ने उपभोक्ता समितिका सदस्य तथा पुर्व अध्यक्ष असोक केसीले सो ग्राभ्रेल सडकको सम्बन्धमा आफुहरुलाई कुनै जानकारी नदिई बाटो निर्माण गरेकोमा गुनासो गर्नुभएको छ। उहाँले सो ठाउँमा किसानलाई खेतसम्म पानि पुर्‍याउन नसकिरहेको अवस्था रहेको भन्दै किसानहरुले निकै गुनासो गरिरहेकोले नहरको मर्मत सम्भार गर्ने बजेट भएको भए किसानको खेतमा पानि पुर्‍याउनु सकिने थियो तर उपभोक्ता समितिसँग कुनै सल्लाह नगरिकन कस्ले आफू खुसी ग्राभ्रेल गर्ने बजेट ल्याई काम गरेको भन्दै गुनासो गर्नुभयो।

सो बाटोको बिषयमा ग्राभेल सडक उपभोक्ता समितिका अध्यक्ष कपिल श्रेष्ठले एक नम्बर प्रदेश सरकारको पूर्वाधार बिकास कोषबाट १० लाख रुपैँयाको बजेटमा लगभग १५ सय मिटर लम्बाई ग्राभेल सडक कुनै लुकिछिपि उपभोक्ता समिति न बनेको र स्थानीयलाई सार्वजनिक सूचना गरेको दावी गर्दै अविरल वर्षाका कारण रोकिएको ग्राभेल सडक निर्माण कार्य सम्पन्न गर्न बाँकी रहेको बताउनुभयो।