धरान/ एडिवीले धरानलाई ठग्नु ठगेको आयोजना अनुगमन समितिका संयोजक एवं सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले बताएका छन्। दिन बिराएर आधा घण्टामात्र पानी आउने गरेको, पानीको चाप अत्यन्त कम भएकाले पानी तान्न मोटर जडान गर्नु परेको र पानी पनि लेदो मिसिएको आउने गरेको जनगुनासो अनुगमनका क्रममा पाइएकाले गोलेले यसो भनेका हुन्।

एशियाली बिकास बैंकको ऋण तथा अनुदानमा ल्याइएको अढाई अरबको धरान खानेपानी आयोजनाले डि.पि.आर. बमोजिम ७ मिटरको पानीको चापमा न्युनतम् १६ घण्टादेखि २४ सै घण्टा विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) मापदण्डको शुद्ध खानेपानी उपलब्ध गराउने उल्लेख छ।

अनुगमनका क्रममा घरलौरी बाटो मा नै मोटर जडान गरी पानी तानेको पाइएको गोलेको भनाई छ। धरानबासी उपभोक्ताहरुले टंकीमा पानी नचढेपछि बाध्य भएर मोटर जडान गर्नुपरेको बताएका छन्। लेदो मिसिएको पानी त्यो पनि आधा घण्टामात्र आएपछि फोहोर पानी खान बाध्य भएको र फोहोर पानीका कारण स्वास्थ्यमा समेत असर परेको उपभोक्ताहरुले गुनासो गरेका छन्। उनीहरुले पर्याप्त शुद्ध पानी पिउन पाउनुपर्ने माग गरेका छन्।

आयोजनाको ९ महिने परीक्षणकाल करिव ३ महिना बाँकी हुँदा समेत आयोजनाले डि.पि.आर. र सम्झौता बमोजिम पानी बितरण गर्न सकेको छैन। अझै उपभोक्ताको हजारौं धारा जडान गर्न बाँकी नै छ। डि.पि.आर.मा १ करोड ३ लाख लिटर र सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिसँग भएको ११ बुंदे सम्झौतामा १ करोड ५२ लाख २० हजार लिटर पानी प्रतिदिन उत्पादन गर्ने उल्लेख छ।

धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा आयोजना प्रमुख राजु पोख्रेलले डिजाइन भन्दा बढी पानी उत्पादन भएको दावी गर्दै आएपनि यथार्थमा औसत दैनिक ६२ लाख लिटरमात्र उत्पादन भईरहेको संयोजक गोलेले बताएका छन्।

अर्बौँ लगानीमा निर्माण गरिएको आयोजनाले पनि डि.पि.आर. सम्झौता एवं लक्ष्य बमोजिम पानी उत्पादन र वितरण गर्न नसकेकाले यो आयोजनाको फिनान्सीयल अडिट र टेक्निकल अडिट गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै आयोजना असफल बनाउने एडिवी, परामर्शदाता, आयोजना प्रमुख र ठेकेदार कसैलाई पनि छोड्न नहुने उनले बताएका छन्।

उनले धरान उपमहानगरले विज्ञ मार्पत आयोजनाको अध्ययन र छानवीन गर्ने बताएको महिना दिन बितिसक्दा पनि बिज्ञ टोली गठन नहुनुले खानेपानी जस्तो संवेदनशील बिषयमा उपमहानगर गम्भिर नदेखिएको र आयोजना सफल भएको प्रमाणीकरण नै नगरी खानेपानी संस्थानको धरान शाखालाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेर सरकरी संरचना मास्न हतारो गरेको आरोप लगाउंदै आयोजना सफल भएको प्रमाणित नहुँदासम्म खानेपानी संस्थानलाई चलाउन नहुने बताएका छन्।

असफल आयोजनाका कारण बोर्डले पानी खुवाउन नसक्ने अवस्था देखिएकाले पनि खानेपानी व्यवस्थापन र आपूर्तिको सुनिश्चिता नभएसम्म संस्थानलाई यथावत राख्नु उचित हुने तर्क गर्दै आयोजनाको पूर्ण परीक्षण र सञ्चालनमा भने संस्थानको सहयोग जारी रहनुपर्ने उनले बताएका छन्।