सुनसरी/ सुनसरीको इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष ०७७/ ७८ का लागि १ अर्व ७८ करोडको बजेट प्रस्तुत गरिएको छ। उपमहानगरको सातौ नगरसभामा उपप्रमुख लक्ष्मी गौतमले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

१ अर्व ७८ करोड कुल बिनियोजन मध्ये चालु तर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ १ अर्ब ४ करोड ७५ लाख र बित्तीय ब्यवस्था तर्फ १ करोड ४० लाख अनुमान गरिएको छ। बजेटमा स्वास्थ्य, कृषि, रोजगार र भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ।

meyar
नगरसभाको अध्यक्षता गर्दै मेयर चौधरी

आगामी आर्थिक बर्ष इटहरीको २५बर्षे योजनासहितको बिस्तृत गुरु योजना निर्माण गरिने भएको छ। इटहरीमा इन्जिनियरिङ अध्ययन गराउने सामुदायीक क्याम्पस स्थापना गर्ने कार्यको सुरुवात गरिने भएको छ। इटहरी अस्पतालको सुधार र स्तरोन्नतीका लागि प्रदेश सरकार र इटहरी उपमहानगरले उल्लेख्य रकम खर्च गरिने भएको छ। अहिले त्यहाँ ३३ कोठे नयाँ अस्पताल भवन निर्माण शुरु भइसकेको छ।

५० बर्षमाथिका जेष्ठ नागरिकको मुटु सुगरलगायतका रोगको निशुल्क परीक्षण गरिने छ। ७५ वर्ष माथिका जेष्ठ नागरिकको सबै प्रकारका रोगको परीक्षण गरिने भएको छ। एक हजार बिपन्न परिवारको निशूल्क स्वास्थ्य परीक्षण गरिने छ। इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

इटहरीलाई बाँझो जमिनमुक्त क्षेत्र घोषणा गरिने भएको छ। घरेलु ग्राम निर्माणका लागि १ करोड बजेट बिनियोजन गरिएको छ। बहुजातीय संग्राहलय निर्माण कार्यको थालनी गर्न १ करोड रुपैँया बिनियोजन गरिएको छ। आगामी बर्षमा बहुबर्षे एघार वटा योजना सम्पन्न गरिने छ। ती योजना सम्पन्न हँुदा ३० किलोमिटर ग्रामिण बाटो कालोपत्रे हुनेछन्।

इटहरीमा निर्माण शुरु गरिएको सुरक्षित आवास गृह सेफ हाउस निर्माण सम्पन्न गरिने छ। उपमेयर सुत्केरी भेट कार्यक्रमलाई निरन्तरता दिइएको छ। इटहरी अस्पताल र उपमहानगर क्षेत्रभित्रका बर्थिड सेन्टरमा प्रसुती गराउने महिलाका लागि थप १ हजार रकम प्रदान गरिने कार्यलाई निरन्तरता दिइएको छ।

मेयरकप फुटबल प्रतियोगिता र बिद्यालय स्तरीय ओलम्पिक खेलकुद प्रतियोगिता गरिने भएको छ। बिदेशबाट फर्किएका युवालाई नयाँ रोजगारीका लागि युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिने छ। मुसहर बस्तिबिकास कार्यक्रमलाई निरन्तरता दिइने छ। यो कार्यक्रममार्फत यस बर्ष ९ घर निर्माण सम्पन्न हुन लागेका छन्। अति बिपन्न मुसहर परिवारलाई ती घर हस्तान्तरण गरिने छ।

देशमै नौलो स्मार्ट पार्किङ निर्माणका लागि पाँच करोड रकम बिनियोजन गरिएको छ। इटहरी चौकमा पृथ्वी आकारको स्मारक निर्माण गरिने छ। इटहरी ९ वीपी चौकमा बीपी कोइरालाको र इटहरी १६ लविपुरमा मदन भण्डारीको शालिक निर्माण गरिने छ।

नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा उपमहानगरको सातौ नगरसभामा भएको थियो। नगरसभा शुरु हुनुअधि मेयर चौधरीले इटहरी चौकमा नेपालको राष्ट्रिय झण्डा फहराउनुभयो। नगरसभामा संविधानसभाका सभासद रेवती रमण भण्डारी,प्रदेशसभा सदस्यहरु सर्वध्वज साँवा र लिलम बस्नेतले शुभकामना ब्यक्त गर्नुभयो।