इटहरी/ आईतबार(आज) नेपालबाट देखिने गरी खण्डग्रास सूर्यग्रहण दुई नक्षत्रलाई समेट्दै मिथुन राशिमा लाग्दैछ। आइतबार बिहान १० बजेर ५० मिनेटबाट शुरु हुने ग्रहण मध्याह्न १२ बजेर ३८मिनेटमा मध्यम हुने र अपराह्न २ बजेर २३ मिनेटमा मोक्ष हुने(पूर्णरुपमा ग्रहणले छोड्ने) छ।

ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई बिशेष रुपमा हेरिएको छ। ग्रहण शुरु भएको २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छोडेर आद्रा नक्षत्रमा करिब ५८मिनेटसम्म ग्रहण रहिरहने छ। यस्तो खालको ग्रहण महाभारत युद्धको समयमा पनि लागेको भन्ने ज्योतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख छ।

आइतबार सूर्य ग्रहण तथा सोमबार चन्द्रग्रहण परेको बर्ष बिशेष महत्व रहने गरेको छ। ग्रहणलाई चुडामणि ग्रहण भन्ने गरिएको छ। गत बर्ष पुसमा लागेको खण्डग्रास सूर्यग्रहण भन्दाभन्दा ठीक बिपरीत तरिकाबाट लागेकाले पनि यसको प्रभाव बिश्वभरि नै सकारात्मक रहने अनुमान गरिएको छ। ग्रहणलाई धार्मिक र बैज्ञानिक रूपबाट अशुभ मानिन्छ। बिज्ञानले सूर्य ग्रहणलाई नांगो आँखाले हेर्न बर्जित गरेको छ भने धार्मिक दृष्टिमा पनि ग्रहणकालमा केहि कामहरु गर्न बर्जित छ। ग्रहणका बेला गर्न नहुने काम र गर्नुपर्ने कार्यका बारेमा केहि जानकारी दिदैंछौ।

सूर्य ग्रहणको सूतक काल
ग्रहणको सुतक काल भनेर सू्र्य ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने समय सुतक काल उल्लेख छ। ग्रहणको प्रभाव कम गर्नका लागि घरमा भएका पानीका भाँडाहरुमा कुश राख्ने तथा गाईको गोबरले घर घेर्ने परम्परा पनि सदियौंदेखि रहिआएको छ। गाईको गोबरमा हानिकारक व्याक्टेरियालाई निष्कृय पार्न सक्ने शक्ति रहेको बैज्ञानिकबाट पुष्ठि भईसकेको छ।

सूतक बार्नुपर्ने कारण
ग्रहण लागेको बेला सूतकको बिषेश महत्व हुन्छ। हिन्दु धर्म अनुसार ग्रहणको सूतक काल शुरु भएपछि कुनै पनि कार्य गर्नुहुदैन। यस अवधिमा कुनैपनि शुभकार्य गर्न बर्जित गरिएको छ। सूतक काललाई अशुभ समय मानिन्छ।

ग्रहण लागेको बेला गर्न नहुने कार्य
१. ग्रहण लागेको बेला कुनैपनि शुभकार्य वा कुनैपनि कार्यको थालनी गर्नुहुँदैन।
२. ग्रहण लागेको बेला सुत्केरी, अशक्त तथा बालबालिका बाहेकले भोजन गर्नुहुँदैन।
३. ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न बर्जित रहेको छ।
४.ग्रहण अवधिभरी कुनैपनि देवि देवताको मुर्ति, तुलसी, शालिग्रामलाई छुनुहुँदैन।
५. ग्रहणको अवधिभरी बिरामी र अशक्त बाहेकले सुत्नुहुँदैन।
६. ग्रहण लागेको बेला कोहिसँग झगडा गर्नुहुँदैन।
७. ग्रहण अवधिभर कसैसँग झुटो बोल्ने वा कुनै बाचा गर्नुहुँदैन।
८. ग्रहण अवधिभरी गर्भवती महिला घरबाट बाहिर निस्कनु हुँदैन।
९. ग्रहणलाई सुरक्षा बिना प्रत्यक्ष आँखाले हेर्नु हुँदैन । ग्रहण हेर्न मिल्ने चस्मा लगाउनु उत्तम हुन्छ।
१०. ग्रहण अवधिमा चक्कु, छुरी वा धारिलो हतियारको प्रयोग गर्नुहुँदैन।
११. ग्रहण अवधिमा पूजा गर्नुहुँदैन।
१२. ग्रहण अवधिमा नुहाउन पनि हुँदैन। यसलाई अशुभ मानिन्छ।

ग्रहण लागेको बेला के गर्ने ?
१. ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गाउनुपर्दछ।
२. ग्रहण अवधिभर शान्त रहने तथा भगवानका मन्त्र उच्चारण गरिरहनुपर्दछ।
३. ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छर्केर मात्र प्रवेश गर्नुपर्दछ।
४. ग्रहणको अवधिमा आदित्य हृदय स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ।
५. ग्रहणको गलत प्रभावबाट बच्न महा मृत्युंजय मन्त्रको जाप गर्नुपर्दछ।