काठमाण्डौ/ सरकारले कोरोना संक्रमणको बढ्दो दरलाई मध्यनजर गर्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिडडुल गर्न प्रतिबन्ध लगाएको छ।
गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो।

असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रूपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको गृह मन्त्रालयले जनाएको छ। सोही मापदण्डले रातिको समयमा नागरिकलाई हिँडडुल गर्न कडाइ गर्ने व्यवस्था गरेको हो। रातमा हुने हिडडुलको अनुगमन भने प्रहरीले गर्नेछ। त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ।

उत्पादनमूलक कृयाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा बिकास निर्माणलगायतमा एक ठाउँमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ।
गृहले कोभिड–१९ संक्रमणको जोखिम कायम नै रहेको भन्दै सबै नागरिकलाई स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउन पनि भनेको छ। अत्यावश्यक काम बाहेक आफू रहेको आवास र कार्यस्थलबाट अन्यत्र आवतजावत नगर्न, नगराउन भनेको छ।

हिँडडुल गर्दा वा कार्यस्थलमा रहँदा न्यूनतम दुई मिटरको सामाजिक दुरी कायम गर्न पनि भनिएको छ। कार्यस्थलमा रहँदा, सेवा प्रवाह गर्दा र आवतजावत गर्दा अनिवार्य रूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि गृहले भनेको छ।

ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी, गर्भवती महिला र अशक्त व्यक्तिलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रोत्साहित गर्न पनि गृहले भनेको छ। गृहको आदेश कार्यान्वयनमा खटिएका सुरक्षा अधिकारीहरूलाई पनि उच्च सावधानी अपनाउन भनिएको छ।