बिराटनगर/ प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पहुँचका भरमा मात्र काम बन्ने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। प्रदेश सभाको बिहिबार बसेको बैठकमा बोल्दै सांसद संग्रौलाले यस्तो चिन्ता ब्यक्त गर्नुभएको हो।

सांसद संग्रौलाले पहुँचका आधारमा सेटिङ मिलाएर काम गर्ने प्रवृत्ति बढ्दा बिनापहुँचका व्यक्तिहरु पीडित बन्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो। उहाँले प्रदेशमा पनि अहिले सेटिङ मिलाएका भरमा मात्र काम बन्ने प्रवृति बढेको भन्दै कृषकको उदाहरण दिँदै जसको पहुँच छ, सेटिङ मिलाउन सक्छ, उसले पैसा लान्छ। पहुँच नहुने बास्तविक किसान बाख्रापालन गरेपनि, बंगुर पालन गरेपनि सेटिङ मिलाउन नसक्दा अनुदानबाट बञ्चित बन्ने स्थिती छ।

पहुँचवाला बनावटी किसानबाट सजग भई बास्तविक किसानलाई प्रदेश सरकारले राहत र प्रोत्साहनको व्यवस्था मिलाउन सांसद संग्रौलले माग गर्नुभयो।

जताततै कमिसन र भ्रष्ट्राचार मौलाउँँदा मुलुकको अर्थतन्त्र ओरालो लागेको भन्दै सांसद संग्रौलाले भ्रष्टाचारबिरुद्ध शून्यसहनशिलताको नारा कितावमा मात्र नभएर व्यवहारिक रुपमा पनि लागु गरेर प्रदेश सरकार अघि बढ्नुपर्नेमा जोड दिनुभयो।