काठमाण्डौ/ कोरोना भाईरसका कारण रोकिएको एसईई परीक्षा नगर्ने सरकारले निर्णय गरेको छ। बुधबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लगेको ठाडो प्रस्तावमाथि बुधबार अबेर सकिएको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेसँगै यसबर्ष एसईई परीक्षा नहुने पक्का भएको हो। कोरोनाको जोखिम न्यूनिकरण गर्न स्थगित गरिएको सो परीक्षा नगर्ने बारेमा मन्त्रीपरिषद्ले सैद्धान्तिक निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो।

अवस्था झन् प्रतिकुल हुँदै गएको, शिक्षाका सरोकारवालाहरुबाट पनि परीक्षा नगर्दा हुन्छ भन्ने सुझाव आएको र लामो समय सम्म बिद्यार्थी अभिभावकलाई अन्योलमा राख्न उचित नहुने भन्दै मन्त्री पोखरेलले मन्त्रीपरिषदमा प्रस्ताव लानुभएको थियो।

‘हामीले लगेको प्रस्तावमा मन्त्रीपरिषद्ले सहमती दिएको छ, अब निर्णय प्रमाणित भएर आएपछि आवश्यक कार्यविधि बनाईने र बिद्यार्थीको मुल्यांकनको विधि तय गरिने छ, यो काम परीक्षा बोर्डले गर्ने छ’ पोखरेलले भन्नुभयो ’कक्षा ११ र १२ का सन्दर्भमा कुनै निर्णय गरिएको छैन, आजलाई हामीले यस बर्षको एसईईका बिषयमा मात्रै निर्णय गरेका हौं।’

आगामी बर्ष देखि के गर्ने भन्ने बिषयलाई संघीय शिक्षा ऐनबाटै सम्बोधन गर्ने गरी मन्त्रालयले कार्य गरिरहेको मन्त्री पोखरेलले बताउनुभयो। बिद्यालयबाट यस अघि हुँदै आएको मुल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट प्रमाणिकरण गर्ने गरी मन्त्रालयले प्रस्ताव लगेको थियो। बिद्यालयले यसअघि नै गरेको मूल्यांकनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने, सो कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणिकरण गर्ने प्रस्ताव शिक्षा मन्त्रालयको छ।

शैक्षिक सत्रका बारेमा के गर्ने भन्ने बिषय लकडाउनको मोडालिटिमा भर पर्ने तथा कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय मन्त्रीपरिषद्ले नगरेको हुँदा बोर्डमार्फत् आफैंले गर्न सकिने मन्त्रालयको बुझाई छ। त्यसैले यी दुई बिषयमा सो प्रस्तावमा केही उल्लेख गरिएको थिएन। कोरोना भाईरसको जोखिमका कारण परीक्षा आउन १२ घण्टा पनि बाँकी नहुँदा गत चैत ५ गते सरकारले स्थगित गर्ने निर्णय गरेको थियो। त्यस लगत्तै चैत ११ गतेबाट जारी लकडाउनका कारण अवस्था असहज भएपछि परीक्षा हुने नहुने अन्योलले बिद्यार्थी अभिभावक मारमा परेका थिए।

शिक्षा ऐनको आठौं संशोधनले बिद्यालय शिक्षाको संरचना परिवर्तन गरेर कक्षा १२ सम्म पुर्‍याईसकेको ४ बर्ष भईसक्दा पनि सो परीक्षाको शैली साविकको एसएलसीकै जस्तो भएको भन्दै आलोचना भईरहेका बेला यस बर्ष बदलिन लागेको परीक्षाको मोडेललाई बदल्ने सुनौलो मौका ल्याएको छ।

-एडुखबर