इटहरी/ प्रेस संगठन नेपाल १ नम्बर प्रदेश समितिले नेपाली कांग्रेस एक नम्बर प्रदेशका प्रदेशसभा प्रमुख सचेतक केदार कार्कीले सरकारको काममा आलोचना गर्ने बिषय नै नपाएपछि सरकार र मिडियामाथि अनर्गल आरोप लगाएको बताएको छ। संगठनले प्रेश बिज्ञप्ती जारी गर्दै यसो भनेको हो।

कार्कीले संसदमा दिएको अभिव्यक्ति आपत्तीजनक रहेको भन्दै संगठनले सरकारको काममा आलोचना गर्ने बिषय नै नपाएपछि कार्कीले सरकार र मिडियामाथि अनर्गल आरोप लगाएको स्पष्ट भएको बिज्ञप्तीमा उल्लेख गरेको छ। बिज्ञप्तीमा यस्तो अवस्थामा सञ्चार माध्यमले राहतकै रुपमा प्राप्त गरेको थोरै रकमको बारेमा अफवाह फैलाउनु, अनियमितता भएको आरोप लगाउनु र सरकारले मुख थुन्न रकम दिएको प्रचार गर्नु निन्दनीय छ भनिएको छ।

बिज्ञप्तीमा संकटको बेला आफ्नो भूमिका निर्वाह गरिरहेका सञ्चारकर्मी र सञ्चार माध्यमलाई हेर्ने नेपाली कांग्रेसको दृष्टिकोण के हो भन्ने प्रश्न पनि यो प्रकरणमा खडा भएको र यसबारे पनि स्पष्ट गर्न हामी सम्बन्धित दलको ध्यानाकर्षण गराउनका साथै संकटको बेला सक्रिय रहेका सञ्चार माध्यम र सञ्चारकर्मीलाई हतोत्साही बनाउने र बद्नाम गर्ने काम नगर्न आग्रहसमेत गर्दछौं भनिएको छ।

संगठनमा प्रदेश संयोजक राजन केडी र सहसंयोजक गणेश पोखरेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा कोरोना भाइरसको महामारीको कारण समग्र क्षेत्र प्रभावित बनेको बेला सञ्चार क्षेत्र पनि प्रभावित भएको र कोरोना महामारी नियन्त्रण गर्न गरिएको लगातारको लकडाउनको कारण संकट र जोखिममा परेका सञ्चारकर्मी र सञ्चार माध्यमका प्रमुख समस्या समाधानमा सरकारले सहयोग गर्नुपर्छ भनिएको छ।

बिज्ञप्तीमा खासगरी साना लगानीका मिडियाको संरक्षण, समानुपातिक बिज्ञापन बितरण, स्थानीय बिज्ञापन स्थानीय सञ्चार माध्यममा बितरण, प्रदेश स्तरीय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारका लागि बिद्युत, टेलिफोन, इन्टरनेटमा छुटको ब्यवस्था, कोरोना राहत पत्रकार कोष स्थापना, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा, क्षमता बिकास र क्लिनफिडको नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँछौं भनिएको छ। यस्तै प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको सन्दर्भमा उल्लेखित बिषय समेट्न आग्रहसमेत गर्दछौं भनिएको छ।

बिज्ञप्तीमा कोरोना महामारीबाट नागरिकलाई सचेत गराउन र महामारी रोकथाम तथा नियन्त्रणमा सञ्चार क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै यसैलाई ख्याल गरेर नै प्रदेश १ सरकारले प्रदेशका सञ्चार माध्यमलाई कोरोना सचेतना सन्देश उपलब्ध गराएर संकटको बेला थोरै भएपनि राहत उपलब्ध गराएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौं भनिएको छ।

बिज्ञप्तीमा उपलब्ध गराएको रकम तोकिएको मापदण्ड अनुसार पारदर्शी रुपमा प्रदेश पत्रकार महासंघले बितरण गरिरहेको सन्दर्भमा यसबारे उत्पन्न कतिपय बिवाद अनावश्यक रहेको हाम्रो ठहर छ भनिएको छ। बिज्ञप्तीमा प्रदेशका साना लगानीका र स्वरोजगारमुलक मिडियाले प्रदेश कोरोना जनसुरक्षा कोषको कार्यबिधि अनुसार नागरिकलाई सुसुचित गराउन दिएको रकमले सञ्चार माध्यम र सञ्चारकर्मीले थोरै भएपनि राहत पाएका छन् भनिएको छ।

बिज्ञप्तीमा कोरोनाबाट उत्पन्न संकट समाधानको लागि सरकारले अन्य क्षेत्र जस्तै पत्रकार र सञ्चारकर्मीलाई पनि राहत र सहुलित दिनुपर्छ भन्ने हाम्रो स्पष्ट माग रहेको छ भनिएको छ।