कोभिड- १९ [अपडेट]

उद्योगीको मनोमानीको कारण मारमा परेको हार्डवेयर व्यवसायीको गुनासो

  • न्युजडेस्क
  • प्रकाशित मिति: जेठ 18, 2077

इटहरी/ सुनसरीको इटहरीमा भेला भएका पूर्वका हार्डवेयर व्यवसायीहरुले उद्योगीको मनोमानीको कारण आँफुहरु मारमा परेको गुनासो गरेका छन्। सामाजिक दुरी कायम गरी इटहरीमा शनिबार गरिएको पत्रकार सम्मेलनमा पूर्वका हार्डवेयर व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन्।

पत्रकार सम्मेलनमा पूर्वका हार्डवेयर व्यवसायीहरुले असामान्य अवस्था सिर्जना हुनासाथ उद्योगीहरुले कारोवारको नीति परिवर्तन गर्ने, अस्वभाविक मूल्यबृद्धि गर्ने, ढुवानी लागत बढ्न गई समग्र बस्तुको लागत बढ्न जाने हुँदा व्यवसायीले बस्तुको मूल्य बृद्धि गरी बिक्री गर्दा व्यवसायीलाई कालोबजारीको आरोप लागेर कानुनी जटिलता भोगिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

व्यवसायीले नभएर उद्योगले नै समस्या श्रृजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन्। हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायी संघ इटहरी, धरान हार्डवेयर संघ, बिराटनगर हार्डवेयर संघ, इनरुवा हार्डवेयर संघले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै अनावश्यक र कृत्रिम अभाव श्रृजना गरी मूल्य बढाउदा ब्यवसाय नियमित रुपमा सञ्चालन गर्न नसक्ने व्यवसायीले बताएका छन्। सम्बन्धित कम्पनीहरुसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभए बिकल्प रोज्ने ब्यवसायीहरुले बताएका छन्।

हार्डवेयर व्यवसायीले Bank Guarantee, ODC Cheque, PDC Cheque, Written Agreement, Verbal agreement भएकै आधारमा लकडाउन खुल्न साथ कानुनी प्रावधानलाई आधार मान्दै बक्यौता अवधि एवम् बक्यौता खाता समायोजन गर्नुपर्ने भनेर यवसायीलाई मानसिक,व्यक्तिगत, पारिवारिक तथा सामाजिक तनाब हुने गरी भुक्तानीका लागि दबाब श्रृजना नगर्न उद्योगीहरुसँग माग गरेका छन्।

उद्योगीहरूले बिना कारण मूल्यवृद्धि गरेपछि यसको प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको बताउँदै मूल्यवृद्धिको चौतर्फी बिरोध भइरहँदासमेत सरोकारवाला निकायवाट अनुगमन, छानविन तथा मूल्य नियन्त्रण गर्नेतर्फ कुनै कदम नचालिनु अर्को आश्चर्यको बिषय बनेको हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायी संघ इटहरीका अध्यक्ष भोला प्रसाद निरौलाले बताउनुभयो।

बिज्ञप्तीमा “जब जब देशमा विषम परिस्थिति सृजना हुन्छ तबतब उत्पादक उद्योगीहरुले पनि धमिलो पानिमा माछा मार्ने दाउमा रहेको जस्तो गतिविधिहरु गर्न खोजेको देख्दा हामी व्यवसायीहरुको मानसपटलमा चाहिँ उद्योगीहरुले मानवीय समवेदना तथा सामाजिक उत्तरदायित्व भुल्दै गएको पो हो कि ? भन्ने प्रश्न घुमिरहेको हुन्छ, जसको जवाफ आजको मिति सम्म हामीले प्राप्तगर्न सकेका छैनौँ । सरकारले पनि हामीलाई व्यवसायगर्न सहज वातावरण प्रदान गरोस”भनिएको छ।

बिराटनगर हार्डवेयर संघ बिराटनगरका अध्यक्ष मुकुन्द दाहालले लकडाउनको अवस्थामा समेत उद्योगीले एकाएक मूल्यवृद्धि गर्नु आम उपभोक्ता माथि शोषण र अन्याय गरेको बताउनुभयो।

यस्तो अवस्थामा हार्डवेयर व्यवसायीको लागि सरकारले विशेष प्राथमिकता दिएर योजना तथा नीति ल्याउन जरुरी भएको इटहरीका व्यवसायी तारा कटवालले बताउनुभयो।

लकडाउनको समयावधि भरिको घरभाड छुट गरिदिन तथा लकडाउन खुलेर व्यवसाय सञ्चालन भए पश्चात् ६० दिनपछि देखि मात्रघर भाडा भुक्तानी दिने वातावरण निमार्ण गर्न इनरुवा हार्डवेयर संघ इनरुवा अध्यक्ष पहल बहादुर कट्वालले अपिल गर्नुभयो। IMG_8259

पत्रकार सम्मेलनमा धरान हार्डवेयर संघका अध्यक्ष नबिन राजभण्डारीले घरबहाल कर, व्यवसायिक कर, सामाजिक सुरक्षा कर बुझाउने समय अघिल्लो आर्थिक बर्ष २०७७/७८ को पौष मसान्त सम्म उपलब्ध गराउने तथा उक्त समय सीमा सम्म कुनै पनि हर्जना तथा व्याज नलगाउन स्थानीय, प्रदेश तथा संघीय सरकार समक्ष माग गर्नुभयो।

लकडाउनको समय सीमा भरिको सवारी साधनका सबै प्रकारका कर छुटगर्ने तथा नवीकरण गर्नुपर्ने सवारीको हकमा नवीकरण गर्ने समय सीमा १ वर्ष थप गर्न तथा लाग्ने जरीवान छुट गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारसँग व्यवसायीहरुले माग गरेका छन्। 

त्यसैगरी पुर्वका हार्डवेयर व्यवसायीहरुले वित्तीय संस्थाले ब्याज कम्तिमा ५ प्रतिशत घटाई कम्तिमा ३ वर्षसम्म स्थिर राख्न, लकडाउनको समयको ब्याजमा विशेष सहुलियत प्रदान गर्न,बक्यौता ब्याजको लागि व्याज पूँजीकरणको व्यवस्थागर्न तथा पुनरकर्जाको व्यवस्था गरी व्यवसायलाई चलायमानको अवस्थामा ल्याउनको लागि नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुसँग माग गरेका छन्।

हार्डवेयर ब्यवसायीहरुले पत्रकार सम्मेलनमार्फत नेपालमा बिद्युतीय बैंककिङ कारोवार सम्बन्धी जनमानसमा ज्ञान, सीप तथा सुरक्षाको बिश्वसनीयता नभएको अवस्थामा नगदको कारोबारमा कोरोना कर लगाउने भनेर जनतालाई त्रसित बनाउने काम नगर्न बित्तीय सँस्थाका सञ्चालक तथा बैंकर संघलाई जानकारी गराएका छन्।

सम्बन्धित कम्पनीसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभएपछि बिनाकारणको मूल्य बृद्धिले प्रत्यक्ष असर उपभोक्ता र हार्डवेयर व्यवसायीमा परेको हुँदा यसले पारेको समस्याप्रति सरोकारवालाहरु गम्भीर हुनुपर्ने व्यवसायी मुक्ती दाहालले बताउनुभयो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved