इटहरी/ नेपाल प्रेस युनियनले सुनसरीका सञ्चारकर्मीको कोरोना बीमा गरेको छ। प्रेस युनियन सुनसरीले जिल्लाका २६० जना सञ्चारकर्मीको कोरोना बीमा गरेको हो।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले सुनसररी जिल्लामा सक्रिय २६० जना सञ्चारकर्मीहरुको कोरोना बीमा गरेको जनाउँदै अहिले दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र पत्रकार पनि असुरक्षित रहेकाले आँफुहरुले कोरोना बीमा गरेको बताउनुभयो। अध्यक्ष अधिकारीले फ्रन्टलाइनमा रहेर सक्रिय काम गर्दै आएका सञ्चारकर्मीहरुमा पनि कोरोना देखिएपछि बीमा कार्यक्रम अगाडि ल्याईएको बताउनुभयो।

अध्यक्ष अधिकारीले १५० जना सञ्चारकर्मीको आइएमी जनरल इन्स्युरेन्सले बीमा गरेको र बाँकी ११० जना सञ्चारकर्मीको युनियन कार्यसमितिले बीमा गरिदिएको बताउनुभयो। कोरोना बीमा व्यवस्थापन समितिका संयोजक कृष्ण अधिकारीले युनियनले जिल्लाका सञ्चारकर्मीको कोरोना बीमा गर्नु सकारात्मक रहेको बताउनुभयो।

कोरोना बीमा व्यवस्थापन समितिका सदस्यहरु निशान चौधरी, उषाकिरण घिमिरेलगायतले शुक्रबार आइएमी जनरल इन्स्युरेन्स लिमिटेड इटहरीका शाखा प्रमुख भोजराज अधिकारीलाई बीमाको पोलिसिबारे समन्वय गरेका थिए। शुक्रबार नै ११० जनाको पैसाको चेक पनि हस्तान्तरण गरिएको थियो। शाखा प्रमुख अधिकारीले पत्रकारलाई कोरोना लागेमा चाँडै माग दाबी गर्नका लागि आह्वान गनुभएको छ।

अन्य जिल्लामा थोरै पत्रकारहरुको मात्र बीमा गरिएको र सुनसरीमा भने धेरै पत्रकारहरुको बीमा गर्नु उदाहरणीय रहेको भन्दै उहाँले प्रसंसा समेत गर्नुभएको छ।